बाजुरा – बाजुराको बुढीगङगा नगरपालिका-१० को सिगाडा बदेडा र बाहुन गाउँको बीचमा पर्ने राम हेर्ने डाँडाले आन्तरिक पर्यटक लोभ्याउँदै गएको छ ।
पर्यटकीय स्थल राम हेर्ने डाँडामा बुढीगङ्गा नगरपापालिकाको–१० को वडापालिकाले करिब ११ वटा झण्डा राखेर हावामा फरफराउन थालेसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटक लोभिन थालेका हुन् ।
आफैंमा निकै रमणीय रुपमा रहेको यो डाँडामा अहिले नेपाली झण्डा हावामा फरफराउँन थालेपछि यतिबेला आन्तरिक पर्यटकको समेत घुईंचो लाग्न थालेको बुढीगङ्गा नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर साउद ‘डेभिड’ले जानकारी दिए ।
उनले भने, “वडाकाे उदेश्य अनुसार अहिले उक्त ठाउँमा राष्ट्रिय झण्डा फरफराउन थालेसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटक लोभिन थालेका छन्, हामी खुसि छाैँ ।”

डाँडामा २०८१ साउन १२ गते राष्ट्रिय गान गाउँदै राष्ट्रिय झण्डा लगाउने काम सम्पन्न भएकाे थियाे ।
नेपाली राष्ट्रिय झण्डा हावामा फरफराउँन थालेपछि यती बेला आन्तरिक पर्यटककोसमेत घुइचो लाग्न थालेको र हालसम्म करिब एक हजार जना भन्दा बढीले भ्रमण गरिसकेकाे उक्त याेजना निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा बुढीगङ्गा नगरपालिका वडा नम्बर १० का युवा सञ्जालका अध्यक्ष गाेपाल बुढाले बताए ।
पहिला बाह्रविसदेखि सोलाला र सोलालादेखि बाह्रविस आवतजावत गर्ने जो कोही उक्त डाँडामा आराम गर्थे । त्यसैमा यती बेला वडा कार्यलयले यहाँ नेपाली झण्डा राख्न बजेटको व्यावस्था गरेपछि निर्माण कार्य सञ्चालन गरेकाे उपभोक्त समिति अध्यक्ष बुढाले बताएका छन् ।
“राम हेर्ने डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएमा यहाँका स्थानीयको आर्यआर्जनमासमेत थप टेवा पुग्ने सम्भाना रहेको छ । त्यसैमा वडा सरकारले नै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्न खाेज्नु खुसिकाे कुरा हाे ।”, बुढाले भने ।
उक्त डाँडाबाट बाजुरासहित छिमेकी जिल्ला अछामका बाब्ला साँफेबगर कुष्कोट ठाँटी नन्देगडा गरी करिब ३२ भन्दा धेरै गाउँकाे दृश्य अबलोकन गर्न सकिन्छ।
पहिलेका पुस्ताले यो डाँडामा जन्माअष्टमी हाल्ने र त्यसैमा रमाइलो गर्ने गरेकोले यसको नाम राम हेर्ने डाँडा रहेको हो । कतीपयले यो डाँडालाई टोप्रो उडाउँने डाँडा पनि भन्ने गर्दछन् । यो डाँडामा यहाँ आएकाहरुले टाउँको राखेको टोपि तल फालेर हावाले माथी उडाएर ल्याउने गरेकोले यस डाँडालाई टोपी उडाउँने डाँडा पनि भन्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
यो डाँडामा शान्निकोट माईको मन्दिरसमेत रहेको छ । यो मन्दिरमा पुजा गर्नाले आफुले सोचेका हरेक इच्छा आकाँक्षा पुरा हुने किवदन्ती छ ।





