रुकुमपश्चिम :रुकुमपश्चिमको एक सामुदायिक विद्यालयको प्रवेशद्वारमा विद्यालयकै प्रधानाध्यापकले मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्ने गरेको पाइएको छ।
आठबिसकोट नगरपालिका-८ स्थित हिमालय माध्यमिक विद्यालयको मूलगेटमै रहेको स्टेसनरी पसलमा मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको व्यापार हुने गरेको हो।
मंगलबारको गोरखापत्रमा समाचार छ, नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा भएको अनुगमन टोलीले विद्यालयको गेटदेखि करिब तीन मिटरको दूरीमा रहेको पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार हुने गरेको फेला पारेको हो। उपप्रमुख शाहीका अनुसार स्कुलको मूलगेटमै रहेको विवेक स्टेसनरी तथा किराना पसलमा बियर, चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री हुने गरेको छ।
स्टेसनरीका नाममा सञ्चालित पसलभित्र मदिरालगायत विद्यालयपरिसरमा प्रतिबन्धित सामान बेच्ने गरेको पाइएपछि सो पसललाई १० हजार रुपैयाँ जरिबाना गरेको शाहीले बताइन्।। यो पसल प्रधानाध्यापक नवराज बुढाको हो। प्रधानाध्यापकले नै विद्यालय परिसरमा रक्सी, चुरोट, सुर्ती बेच्ने गरेको गुनासोपछि अनुगमनमा जाँदा स्टेसनरी तथा किराना पसलभित्र बियर, चुरोट, सुर्ती राखेर बिक्री गर्ने गरेको पाइएको हो।
विद्यालय क्षेत्रमा विवेक स्टेसनरी तथा किराना पसलको नाममा दर्ता गरेको पसलमा सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले मदिरा र सुर्तीजन्य व्यापार गर्नु दण्डित कार्य भएको नगर उपप्रमुख शाहीको भनाइ छ।
यो विषयमा प्रधानाध्यापक नवराज बुढाले आफूले मदिरा बिक्रीवितरण नगरेको तर चरित्रहत्या गर्नलाई हल्ला फैलाउन खोजिएको बताए। आफन्तको विवाहमा मदिरा ल्याएको र बाँकी रहेपछि परिवारका सदस्यले सुत्ने कोठामा राखेका रक्सीका बोतल निकालेर पसलबाट रक्सी बेचेको आरोप लगाइएको उनको भनाइ छ । परिवारका अन्य सदस्यले स्टेसनरी र किनारा पसल सञ्चालन गरेका तर मदिरा बिक्री नगरेको उनको दाबी छ।





