गत साल २०८० मा गाेंरा पर्व सुदूरपश्चिमका विभिन्न ठाउँमा दुईपटक मनाए पनि यसपालीकाे गाेंरा भने २०८१ भाद्र -१० गते परेकाे छ । आज श्रावण – २० गतेदेखि गौरा आउन करिब २० दिन जति छ ।
अहिलेदेखि नै सुदूरपश्चिममा गौराकाे राैनक छाएकाे अनुभूति गर्न सकिन्छ । पहाड तिर गौराकाे पूर्व सन्ध्यामा घर लिपपोत गर्ने, नयाँ लत्ताकपडाकाे जाेहाे गर्ने लगायतका कर्महरू भैरहेको देख्न सकिन्छ ।
यतिमात्र नभएर घरबाट बाहिर गएका युवायुवती समेत गौराकाे लागि घर आउने दिन पर्खी बसेका छन् । गौरा पर्वकाे सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
गौरा पर्वका अधिष्ठाता पूजित देवता भनेका शिव र पार्वती हुन् । शिव र पार्वतीलाइ मात्रै पुज्ने देवता मानेर गाेंरा पर्वकाे उत्पत्ति भएकाे कुरा स्कन्द पुराणकाे मानसखण्डमा उल्लेख भए पाइन्छ ।
जस अनुसार– याे मानसखण्डमा पर्ने मानसरोवर कैलाश पर्वतकाे एक कन्दरामा हिमालय पर्वतकी चेली गौरीले महादेव शिवलाइ मात्र पति पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाएर १२ बर्ष सम्म निर्जन हिमालयकाे कन्दरामा कष्टपूर्ण तपस्या र पूजा गरेर बसेकाे प्रतिफलमा उनले श्री महादेवलाइ पति पाएकाे हुनाले हिमालय पुत्री गौरीले त्यही शिव पार्वती सम्वन्धी विवाह विधी र पूजन अर्चन गरेको विषयलाइ आधार बनाएर त्यसै बेलादेखि सुदूर पश्चिमका नारीहरूले हिमालयकी पुत्री गौरीलाई गोःरा–गौरा–गमराको प्रतिमूर्तिका रुपमा शिवपार्वतीको पुजा आजा र व्रत उपवास बस्दै आएका छन् ।
गौरा सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर दार्चुला, बैतडी र कुमाऊँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्ण पक्षकाे षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।
गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार उपवास बसी आ-आफ्नो घरमा वा भणारी घरमा तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँचथरीका अन्न गेडागुडी (कलाैं, गुराँस,मास, गहुँ, गहत) भिजाउने गर्छन् ।
गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गाेंराघर (भणारी घर) मा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।
बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गाेंराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।
धेरै जसाे ठाउँमा त आजभाेली तामा, पित्तल, चाँदीकाे गौराकाे प्रतिमा बनाई डालाेमा विभिन्न थरिका फलफूल राखेर राताे पहेंलाे घुम्टाे ओडाएर टाउकाेमा राखेर खेल्ने, खेलाउने र नाच्ने गर्दछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गाेंरालाई गाेंराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ ।
गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, ठाडाे खेल, डुस्काे, दाेहाेरी, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्टकुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएकाे छ ।
सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गाेंरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ ।
महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलीपल्ट पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । बिरुडा भिजाएकाे दिन र धाेएकाे दिनमा रङ्गीन नयाँ लुगा र गरगहनामा सजिएका महिलाहरू खेल लगाउने, दाेहाेरी गाउने, शिवपार्वती शब्द मिश्रित ढुस्काे खेलेर रमाइलो गर्ने गर्दछन् ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन् । अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ ।
गौराकाे बारेमा वर्णन गर्दैगर्दा अझ केही कुरा छुटेकाे आभाष हुँदैछ । खासमा कुरा के भने गाेंराकाे दुईदिन अगाडि अर्थात षष्ठी र सप्तमीकाे दिनमा प्रत्येककाे घर-घरमा नानी राेटे र ठुली राेटे हुन्छ । नानी राेटे र ठुली राेटेमा लाउन, सेल, पुरी, बाबर, पुताैका, झझ्याँ राेटी, हलुवा, खीर, खजुरा लगायतका परिकारहरू पकाएर परिवारका सबै सदस्यहरू भेलाभइ संगै खाने चलन रहेकाे छ ।
खजुरा हाम्राे दार्चुलाकाे चाेखाे पवित्र खानाकाे परिकार हाे । पाठकहरूलाई “खजुरा” शब्द परिकार नयाँ पनि लाग्न सक्छ । याे परिकार चामलकाे पिठाेमा दूध घिउ, नारिवल, काजु, बदाम, किसमिस, चिनी, मह मिसाइ पिठाे बनाइन्छ । उक्त पिठाेलाई ठेली र बेलनकाे मद्दतले गाेलाकार, त्रिभुज आकार, चाैकुने आकारको बनाइ ताेरीकाे तेलमा पकाइन्छ । अझ भन्नू पर्दा गयाँली केदारी खाना पनि हाे । जाे घर बाहिर निस्केपछि हाेटल र अरुले पकाएकाे खादैनन् । ती चाेखा रहने व्यक्ति र देश बिदेश गइरहेका मानिसहरूकाे लागि बढी पकाइन्छ । याे परिकारलाई हप्तादिनसम्म पनि खान सकिन्छ ।
महिना दिन अगाडिदेखि नुहाइ धाेई चाेखाे बसी विशिष्ट खालको नीतिनियम र विधि पुरा गर्दै गाैरा व्रत बसेर पुजाआजा गरेमा बाधा हट्ने, शत्रु नास हुने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मान-सम्मानका साथै मुक्ति प्राप्त हुने जनविश्वास रहेकाे छ । म पनि माथि उल्लिखित कुराहरुमा शतप्रतिशत विश्वस्त छु ।
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना : मालिकार्जुन गाउँपालिका हुनैनाथ -४ गाेठ्युडी (काेटबुङा), दार्चुला





