मैले आज मेरो मनको महारानी देखें नि! थाहा छ, तिमिलाई? कस्तो निरस भएकी? खै कुन्नी , कुन सहाको अशिष्टता लागेछ, उनलाई? म त अवाक भएं, कस्तो बिग्रेको अनुहार, धुजाधुजा परेका गाला। हरे! भगवान, मैले के देख्नु पर्यो यस्तो?
फक्रक्क फूलेकी फूल जस्ती थिन, उनी जब हामी दुई जनाको प्रेम थियो। उबेला खुब नक्कली थिइन, आँखामा कालो गाँजल, लहरे कपालले सजाएको चन्द्रमुखी अनुहार। आँखाको चञ्चलतामा बाँचेको उनको जीवन, रसैरसले भरिएको थियो, उनको कोमलता। पाउमा छमछम , पाउजु बजाइराख्ने उनका पैतलाको आकर्षण नै बेग्लै थियो। मनको सुन्दरताले शृङ्गारिएका ती मिठा शब्दको बयान गर्ने अद्भुत ज्ञानको कमी थियो म सङ्ग। अझै पनि सम्झन्छु उनका कोमल हृदयबाट स्फुरित शब्दहरुको महल। कस्तो अद्वैत चरित्र थियो उनको।
कल्पनामा हराइरहुँ, शब्दहरुको छन्छन् आवाज सुनिरहुँ, आनन्दको गहिराइमा म उनलाई सम्झिरहुँ, त्यस्तो चरित्र थियो उनको। उनको गहिराईको मापन गर्ने यन्त्र थिएन मसङ्ग। बस् त्यो अद्भुत गहिराइको अनुपम यात्रामा हराइरहुँ लागिरहन्थ्यो। लमक् लमक् चालले मेरो हृदयको कम्पन बढाइरहन्थ्यो बेलाबेला। आंखामा सजिएका फूलका सुन्दर तस्विर नियालिरहन्थें, म घण्टौं सम्म।
जीवनको यो मोडमा पनि उनका पैतला उस्तै छन्, जस्तो मैले पहिले देखेको थिएँ। सर्लक्क परेका पैतलामा समानताको गीत गाइरहेका औंलाले मेरो जीवनको अद्भुत आनन्द झल्काइरहेका हुन्थे। ती कोमल पाउमा सजिएका सेताम्य नङले अनुपम आनन्द दिइरहेका हुन्थे। म त्यो कोमलताको एक अनुरागी झैं बनेको थिएँ। म उनको सम्पूर्ण स्वरुपको पुजारी भएको थिएं। मेरो जीवनको हरेक पुजामा पुज्यमान देवी सरह सझिरहेको ह्न्थेँ। मैले हृदयसङ्ग प्रेम गरेको थिएँ उबेला। हृदयमा पनि खुब रस थियो प्रेमको। खै आज के भएकी यस्ती? कस्ती देखिएकी यस्ती?
सार्है निरस! म त के भनुँ? के भनुँ भयो! बोलिन, बोल्नै सकिनँ, नबोली फर्किएँ। बोल्न नि कसरी बोलौं? के भनौँ? के भयो भनेर कसरी सोधौं? हेर त, मञ्जरी, कस्तो भएकी हो ऊ! कसरी सोधौं? कस्तो अवस्था भएको? के खुशी छैन र?
हैन खुशी नै होला नि! खुशीकै लागि भनेर उसलाई रोजेकी हो उसले। अनि खुशी नहुने त कुरै भएन नि! यदि खुशी छ भनें कसरी यस्ती भइ? कतै बिरामी त थिइन, ऊ? ला! कस्तो मूर्ख मानिस रहेछु म? कमसेकम एकपटक भएनी हालखबर त सोध्नुपर्थ्यो नि हैन त मञ्जरी?
नवराज जोशी, धनगढी
जोशी शिक्षण पेषामा आवद्ध व्यक्ति हुन्। साथै उनी समसामयिक तथा रचनात्मक विषयमा कलम चलाउँदै आइरहेका छन्।





