टीकापुर ।विद्यार्थीहरूमा बढ्दै गएको डिजिटल लत, लागू औषध दुरुपयोग तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रति सचेतना फैलाउने उद्देश्यसहित टीकापुरमा ‘प्रेसिडेन्सियल ग्राजुएट स्कुल टीकापुर करियर फेस्ट–०.२’ सम्पन्न भएको छ।
अनुसन्धान आविष्कार केन्द्र सुदूरपश्चिमको आयोजनामा टीकापुर योगशालामा सम्पन्न उक्त कार्यक्रममा टीकापुर क्षेत्रका विभिन्न प्लस टु कलेजमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा डिजिटल लत, लागू औषध दुरुपयोग, मानसिक स्वास्थ्य तथा करियर काउन्सेलिङसम्बन्धी विषयमा सचेतनामूलक प्रशिक्षण र अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल र साहारा घर बौनियाका अध्यक्ष बलबहादुर बिष्टले कार्यक्रमको उद्देश्य र सान्दर्भिकतामाथि आफ्ना भनाइ राखेका थिए। उनीहरूले विद्यार्थी जीवनमै सचेतना, अनुशासन र सही मार्गदर्शन आवश्यक रहेको बताउँदै डिजिटल लत र लागू औषधबाट टाढा रहन तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए।
कार्यक्रमका संयोजक तथा अनुसन्धान आविष्कार केन्द्र सुदूरपश्चिमका सचिव सुरज खड्काले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक तथा समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले युवापुस्तालाई सचेत र सक्षम बनाउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नोबा अस्पतालमा कार्यरत मनोचिकित्सक डाक्टर रामप्रसाद लामिछानेले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा प्रशिक्षण दिँदै समयमै समस्या पहिचान र उपचार आवश्यक रहेको बताए। यस्तै, मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौटले डिजिटल लतका संकेत र त्यसबाट बच्ने उपायबारे जानकारी दियो भने सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रबन्धन केन्द्रका प्रमुख तेजविक्रम शाहीले लागू औषध दुरुपयोग रोकथामका लागि सचेतना अपरिहार्य रहेको बताए।
सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई उपयोगी, ज्ञानवर्द्धक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।





