धनगढी —निजी शैक्षिक संस्थाहरूले प्राविधिक शिक्षामा सम्बन्धन लिई विद्यार्थीहरूबाट मापदण्डविपरीत शुल्क असुली गर्दै आएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कैलालीले कडा आपत्ति जनाएको छ।
संगठनले सोमबार एक विज्ञप्ति जारी गर्दै सीटीईभीटी अन्तर्गत कैलाली जिल्लामा सञ्चालनमा रहेका निजी विद्यालयहरूले “संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२” उलङ्घन गर्दै गैरकानुनी रूपमा शुल्क असुली गरिरहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा यस्तो कार्य तत्काल रोक्न माग गर्दै निजी विद्यालयहरूले नियम विपरीत मनोमानी ढंगमा सञ्चालन गरेका कार्यक्रमहरूलाई तुरुन्त खारेज गर्न माग गरिएको छ। साथै संगठनले सम्बन्धित निकायहरूलाई तत्काल अनुगमन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन चेतावनी दिएको छ।
यस्तै, अनेरास्ववियू (क्रान्तिकारी) ले सुदूरपश्चिम विश्वविद्यालयमा देखिएको चरम प्रशासनिक लापरबाही र परीक्षा प्रणालीमा देखिएको अव्यवस्थाप्रति पनि चिन्ता व्यक्त गरेको छ। विद्यार्थीहरू समयमा परीक्षा नपाउँदा शैक्षिक भविष्य अन्योलमा परेको भन्दै विश्वविद्यालय प्रशासन र सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने माग गरिएको छ।
संगठनले सरकारी विद्यालयमा देखिएको शिक्षक आन्दोलनका कारण पठनपाठनमा परेको असरलाई गम्भीर रूपमा लिँदै छिटो समाधान निकाल्न आग्रह गरेको छ। आन्दोलनरत शिक्षकहरूलाई सम्बोधन गर्दै विद्यालय सञ्चालन वातावरण बनाउनु पर्ने अनेरास्ववियू (क्रान्तिकारी) कैलालीका अध्यक्ष टेकेन्द्र शाहले बताएका छन्।
विज्ञप्तिमा क्रान्तिकारी विद्यार्थी संगठनले सीटीईभीटीले तोकेको मापदण्डअनुसार मनोमानी शुल्कको समायोजन गर्न र भर्ना प्रक्रियामा देखिएको अनियमितता अन्त्य गर्न माग गर्दै सम्बद्ध निकायहरूलाई तुरुन्त कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।




