धनगढी – समयमै परीक्षा नगरेपछि सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयलाई स्वतन्त्र विद्यार्थी युनियन केएमसीले घडी र क्यालेण्डर उपहार दिँदै व्यङ्ग्यात्मक विरोध गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूमा सोमबार हुने भनिएका स्नातक तह प्रथम सेमेस्टरतर्फ नियमित तथा आंशिक परीक्षा र स्नातकोत्तर तह तृतीय सेमेस्टरको पूरक परीक्षा प्राविधिक कारणले स्थगित गरिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयले आइतबार साँझ एक सूचना सार्वजनिक गरेको थियो।
सोमबार हुने भनिएको परिक्षा स्थगित गरि विद्यार्थीको विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र विश्वविद्यालयको बदनाम हुने कार्य गरिएकोले स्ववियु कैलाली बहुमुखी क्याम्पसले शान्तिपूर्ण सांकेतिक र व्यङ्ग्यात्मक विरोध जनाएको स्ववियु सचिव ओम प्रकाश वस्तीले बताए।
साथै, समयमै परीक्षा सञ्चालन गर्न र विश्वविद्यालयका गतिविधिलाई समयसंगत र क्यालेन्डर संगत गराउन समेत आग्रह गरिएको उनले बताएका छन् भने मङ्गलबारसम्म सबैको प्रवेशपत्र आएर बुधबारबाटका परीक्षा निर्धारित मिति र समयमै हुने प्रतिबद्धता पाएको जनाइएको छ।





