अहिले सिनेमा हलहरूमा राजनीतिलाई कटाक्ष गर्ने किसिमको एउटा चलचित्र चलिरहेको छ, लाज शरणम्।
हाम्रा चलचित्रहरू हाम्रै समाजका ऐना हुन्। चलचित्रले समाजमा भइरहेका गतिविधिहरुलाई देखाउने प्रयास गर्छ। चलचित्र लाज शरणमले पनि नेपालको राजनीतिलाई दर्शाउने प्रयास गरेको छ।
चलचित्रमा दर्साइएको एक दृश्य, जहाँ कर्णालीबाट एक नेता जनताका लागि चुनाव जित्छन्। तर, सुन तस्करको पहरेदार बन्दछन्। गरिबका सपना बेचेर आफू पैसावाला बन्दछन्। जनता हेरेको हेर्यै…
उक्त दृश्यमा देखाए जस्तै धनीमानीको दानापानी खाएकाहरूले नेपालमा पनि दुर्गन्धित राजनीतिको खेल खेलिरहेका छन्।
हुन त हरेक धनीहरू गलत र हरेक गरिबहरू सही कहिले हुन सक्दैनन् । तर, अधिकांश धनीमानीहरू राजनीतिको आडमा रहेर समाजको एक वर्गलाई दुःख दिइरहेका छन् भने, अधिकांश नेताहरू धनीमानीको आडमा रहेर समाजको एक वर्गलाई दुःख दिइरहेका छन्।
हाम्रै देशमा पनि अहिले सत्तामा रहेका र सत्ताको पर्खाइमा रहेका प्रत्येकको उद्देश्य जनतालाई सपना देखाएर आफू बन्नु मात्रै रहेको देखिन्छ। सोही कुरालाई उक्त चलचित्रले पनि देखाएको छ।
कर्णालीका दुःख बेचेर डलर कमाउनेहरूलाई पनि चलचित्रले गतिलो झापड दिएको छ। उसो त जबसम्म हामी अशिक्षित रहिरहन्छौं, तबसम्म कर्णालीको दुःख र सुदूरपश्चिमका छाउगोठ देखाएर केही वर्गले डलर आर्जन गरिरहनेछन्।
वास्तवमा कर्णाली र सुदूरपश्चिम जस्तै पुरै नेपालको समस्या उस्तै छ। कर्णालीले एक ठूलो हिस्सा ओगटेको मात्र हो। तर नेपालका अधिकांश कुना कान्दारामा शिक्षा, स्वास्थ्य र राजनीतिक चेतनाको अत्यन्तै अभाव रहेको छ। जसको फाइदा अहिले समाज र राष्ट्रको नेतृत्व गरिरहेका वर्गले उठाइरहेका छन्। सोही कुराहरूलाई समेटेर उक्त चलचित्र तयार गरिएको छ।
ताली र गालीलाई राम्रोसँग पचाउँदै आफ्नो सिर ठाडो पार्दै अन्तर्राष्ट्रिय स्तरमा देशको सिर झुकाउनेलाई सामान्य चलचित्रले त केही प्रभाव पार्न सम्भव नहोला। र पनि ठूलाठूला परिवर्तनका लागि सानोसानो कुराहरुले नै प्रभाव पार्ने गर्दछ । यसकारण चलचित्र लाज शरणम् पनि नेतृत्व वर्गलाई एक गतिलो झापड हुन सक्छ।





