एकदिन उनले मोबाइलमा सन्देश पठाइन्। कुरा चल्दै थियो, माया प्रेमका। म बडो प्रेमले शब्दसँग बहकिंदै थिएं, शब्दको संरचनामा सपनाका पुष्प गुच्छाहरु भर्दै थिएँ। उनले पनि आफ्ना भावना बडो स्वन्तन्त्रपूर्वक व्यक्त गरिरहेकी थिइन्।
स्वतन्त्रतापूर्वक उडिरहेको चराले स्वर्गको रसपान गर्न पाए जस्तो गरि हाम्रा शब्दका मर्महरु प्रवाहित भैरहेका थिए। यस्तै व्यवहारपत्रहरु व्यवहृत भैरहेको केहिबेर पश्चात् उनले केही बेरको मौनताले छेकबार लाईन् हाम्रा प्रेमिल। म केहिबेर छट्पटाइरहें सन्देश आइपुगेन भनेर।
केही समय लगाएपछी घण्टी बज्यो।मैले आज एउटा कुरा थाहा पाएँ नि! थाहा छ हजुरलाई, हजुर मलाई …… प्रेम गर्नुहुने रहेनछ। हजुरले मलाई तपाईंकी सोच्नु हुने रहेनछ। हजुरले कहिल्यै मलाई आफ्नी मान्नुभएको रहेनछ।
बडो आश्चर्यपूर्वक मैले त्यो सन्देश पढें। आँखिर मैले के बिगारेको रहेछु? मैले उनलाई त्यस्तो के भनेँ जसले उनको मन दुखायो? म बाट त्यस्तो के भूल भयो? आँखिर मलाई यस्तो आरोप कसरी आइलाग्यो? मनमा प्रेमको नदि बगेर सागर नजिकै पुग्ने बेलामा यो कस्तो अवरोध आइलाग्यो! एकटकले बगिरहेको बहलाई कस्तो छेकबार लाग्दैछ ? भर्खरै मैले उनलाई त्यो किन खाएको?/ यो किन खाएको? भनेर प्रश्न गरेको थिएँ, कतै यहि कुराले चित्त पो दुख्यो कि ?घना जङ्गलमा बाटो नपाएर अत्यास भएझैं अवस्था भयो मेरो।
म सागरको गहिराइमा पौडिन नसकेर अत्यासिएको पात्र झैं भएँ म त्यो बेला। ह्यात्तेरी! मेरो कारणले आफ्नो मन दुखाउनु पर्यो उनलाई! के आपत्ती आइलाग्यो , यस्तो? कस्तो मान्छे रहेछु, म?उनको प्रत्येक कुराको ख्याल र खयालको विचारै गर्न सक्दैन यार! म कस्तो मान्छे हुंला, भन्या?किन भनेकी सानी , यसरी? भनेर प्रश्न गर्ने हिम्मत वैशाख जेठको लु.. मा चिसो हावा खुसुक्क छिरे जस्तो भयो।
आँट गरेर , सन्देश पठाएँ। मनमा दोहोरी चल्न सुरु भयो। आँखिर मैले के गरेको रहेछु ? किन दुख्यो होला मन , उनको ? मैले के कमजोरी गरेँ होला ? यसरी अनेकन सोचिरहेको थिएं, फ्याट्ट सन्देश आयो मोबाइलमा।तपाईंले आज सम्म मलाई ‘तँ’ भनेर कहिल्यै भन्नुभएको छैन नि! तपाईंले कहिल्यै यो किन गरिस्? भनेर बेस्सरी थर्काउनुभएको छैन, मलाई हकार्नु भएको छैन, किन? मलाई पराई सम्झेर होला नि , हैन?अरे….! वाफ रे वाफ ! हैन यो के भन्न खोजेकी हौ तिमिले ? किन भनेकी यसो ? भनेर सन्देश पठाएँ।मलाई हजुरले ‘तँ’ भनेर बोलाउनु नि भा’ को छैन अनि म कसरी पत्याउँ कि हजुर मलाई ….. प्रेम गर्नुहुन्छ भनेर।
ओ तेरि……ई! कस्तो यार! क्या बात रहेछ यार? यो कस्तो माग हो यार? के भन्न खोज्या हो? मैले आकास खोतले न कि सागरको गहिराइ नाप्न गएन कि, जमिनको धुलो टकटकाए न कि, म त झण्डै सोचाइको गहिराइमा डुबेको डुब्यै हुनेरहेछु। यो मान्छेले के भन्न खोजेको होला, कस्तो लाटी रहेछ? यति सम्मको कुरा आँखिर प्रेम हो कि माया? उसको कुराले के साँचो प्रेम देखाउन खोजेको हो त? हुनत यो प्रेम होला नि हैन? हुनत मान्छे नक्कली रुवाइमा प्रेम दर्शाइरहेको प्रत्यक्ष देखेको छु, आँशुको बहमा प्रेमको नक्कली भावना बगाएको देखेको छु त्यैभएर खासै विश्वास त लाग्दैन तर यति सम्मको कुरा गरेपछी साँचो प्रेम होला भन्ने विश्वास गर्छु।
मेरो लागि गहिरो माया रै’छ विचरीको, अद्भुत भाव रहेछ मप्रतिको। हाहाहाहा! यो के बोलेको तिमिले? मैले तिमिलाई मेरो भगवानसरी पुजा अर्चना गर्ने गरेको छु। गायन्त्री मन्त्रको सट्टामा तिम्रो नाम जप्ने गरेको छु। मैले तिम्रो त्यो मनलाई पुज्ने गरेको छु अनि कसरी भन्छु म तिमिलाई ,,, ‘तँ’ भनेर? बरु उल्टै मैले ‘हजुर’ भनेर सम्बोधन गर्नुपर्ने थियो!मलाई केही छैन।
तपाईंले मलाई फकाउनलाई जस्तो भने पनि, म पत्याउने वाला छैन नि! मलाई नफकाउनुहोस्, म सानो मान्छे होइन नि! चाहे भगवान मान्नुस् या कुनै अप्सरा या कुनै किन्नरी , मलाई केहि भन्नू छैन तर मलाई हजुरले माया गार्नुहुन्न भन्ने थाहा छ ।
बस् , कुरा यत्ती हो।अब कसरी भन्ने होला ‘तँ’ ? उनी मेरो मनमा फूलेको वेली, चमेली, मखमली, पारिजात सबै सबै हो अनि सुगन्धमय फूललाई कसरी तँ’ भन्ने होला भनेर सोच्दै थिएँ।ल ल मैले फोन राखेँ है! हजुर कोहि अरुलाई बनाउनुस्, हजुरकी प्रीया! कोहि अरु नै होलि नि तपाईंकी प्रीया, त्यैभएर हो नि मलाई तँ’ भन्न नसकेको। भयो, मसङ्ग नबोल्नु होला! मैले राखेँ फोन! तँ चुप लागेर कुरा गर्छेस् कि नाईं?





