धनगढी –प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको चौथो अडिसन आज आयोजना गरिएको छ ।
चौथो अडिसन धनगढीको फूलबारीमा रहेको जनजागृती माविमा आयोजना गरिएको हो ।
जनजागृती माविमा सम्पन्न अडिसनबाट भिडियो राउण्डका लागि ५ जना प्रतिस्पर्धी विद्यार्थीहरुको छनोट गरिएको छ । आफ्नै विद्यालयमा आयोजना गरिएको अडिसनबाट विद्यार्थीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागीता जनाउन पाएकोमा विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले खुसी व्यक्त गरे ।
गत तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणको सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् ।
यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको देखि फागुनसम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ७५-७५ हजार र रु. ३०-३० हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।






