कैलाली । धनगढी उपमहानगरपालिकाले ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री सामग्री वितरण गरेको छ ।
उपमहानगरपालिकाले नगर क्षेत्रलाई पाँच वटा समूहमा विभाजन गरी प्राविधिक परीक्षण पश्चात् आज सहायता सामग्रीको वितरण गरेको हो ।
धनगढी–१, २, ३, ४, ५, ७ र ८ मा बसोबास गर्ने ५५ जना अपाङ्गता भएका व्यक्तिलाई नगर परिसरमा र धनगढी–६, ११ र १३ बेलामा बसोबास गर्ने २५ जनालाई घोर्सुवा स्वास्थ्य चौकीमा सहायता सामग्री वितरण गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिको पहुँच वृद्धि गर्नाका साथै दैनिक क्रियाकलापमा सहजता होस् भन्ने उद्देश्यले उपमहानगरले आर्थिक वर्ष २०७९र८० देखि ‘स्क्रिनिङ क्याप्प’ सञ्चालन गरी सहायता सामग्री वितरण गर्दै आएको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिएका छन् ।
उनले भने, “यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएका हौँ ।” धनगढीमा र बेलामा गरी ८० जनालाई वैशाखी, ह्विलचियर, ट्राइ साइकल, कम्बोट चेयर, हियरिङ एड र लठ्ठीलगायत सहायता सामग्री वितरण गरिएको प्रमुख हमालले बताए ।
उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायता सामग्री वितरण गर्ने कामलाई अभियानका रूपमा लिएको बताउँदै यसलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको उनले बताएका छन् । रासस





