धनगढी – कैलालीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बिहीबार कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा बस र टिप्पर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
उक्त बसमा सवार ६ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा बस चालक बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको प्रहरीले जनाएको छ।
घाईते सबै जनाको घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । टिप्पर र टिप्पर चालक चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ ।





