कञ्चनपुर-कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल प्रा।लि।को आयोजना तथा बेलडाँडी गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न शिविरबाट ४५५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।
गाउँपालिकाको कार्यालय भवन, कञ्चनपुरमा सञ्चालन गरिएको शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विशेषज्ञ सेवासम्म प्रदान गरिएको थियो। शिविरमा जनरल सर्जरी, फिजिसियन, भिडियो एक्स–रे, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो।
शिविरबाट सेवा लिएका बिरामीहरूले ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन पाएको भन्दै सीपी अस्पताल र बेलडाँडी गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्।
यस विषयमा बोल्दै सीपी अस्पतालका प्रशासकीय अधिकृत हेमराज जोशीले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउनु अस्पतालको प्रमुख उद्देश्य रहेको बताएका छन्।
यस्तै, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिस चन्द्र रानाले आफ्ना जनताप्रति सीपी अस्पतालले देखाएको सहयोग र उदारताको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। अध्यक्ष रानाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि सीपी अस्पतालको निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन्। ।
शिविरमा संलग्न चिकित्सकहरूका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले गाउँसमाजमा लुकेर बसेका विभिन्न रोगहरूको समयमै पहिचान र निदान गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। प्रारम्भिक अवस्थामै रोग पत्ता लाग्दा उपचार प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।
स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना बढाउनुका साथै नागरिकको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ।





