दाङ – उच्च अदालत तुलसीपुरले भोलि आइतवारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम शुरू गर्ने भएको छ ।
अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता–२०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य शुरू हुनेछ ।
यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन मात्रै लिने गरिएको थियो । चालू अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही एवम् नयाँ पुनरावेदन पत्र दर्ता गरी सेवाप्रवाहलाई नियमित गर्ने सम्बन्धमा अर्को सूचना प्रकाशन गरेर मात्रै जानकारी दिइने रजिष्ट्रार बास्कोटाले बताउनुभयो ।
गएको भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले नियमित सेवा अगाडि बढ्न सकेको थिएन । रासस





