काठमाण्डौं :नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद गौतमले कांग्रेस र एमालेको संयुक्त सरकार गठन भए पनि सरकार ‘सरकार जसरी’ सञ्चालनमा नआएको टिप्पणी गरेका हुन्।
उनले संसद पनि प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाउँदै वर्तमान प्रणालीप्रति जनतामा निराशा बढ्दै गइरहेको बताए। उनले वर्तमान सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको आरोप समेत लगाए।
सांसद गौतमले राष्ट्रिय सहमति निर्माणको आवश्यकता औंल्याउँदै शीर्ष नेताहरूले टाउको जोड्नुपर्ने बेला आएको बताए।
राष्ट्रिय सहमति निर्माण गरेर मात्र मुलुकलाई गन्तव्यमा पुगाउन सकिने उनको भनाइ छ। राष्ट्रिय सहमतिमा अगाडि बढ्न अझै ढिला गरे व्यवस्था, संघीयता र सरकारको औचित्य सकिने उनको टिप्पणी छ।





