काठमाण्डौं – आईएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १ को रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरए ।
उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्यालसियम कार्बोनेट उत्पादनको समेत अवलोकन गरए ।
२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिकस्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन शुरू गरेको हो ।
शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।
उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो उद्योगको स्थापना आईएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभई नेपालको औद्योगिक यात्रामै नव जागरणका रूपमा लिएको बताए ।
अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन देशको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताका रूपमा लिन र विकासको राष्ट्रिय आकाङ्क्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’ को उदाहरण बनेको पनि उल्लेख गरए।
उद्योगहरू बन्द हुने, लगानीकर्ताहरू पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न युवाहरू जानुपर्ने बाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरू खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सिर्जना गर्न आईएमई ग्रुपको यस्तै उत्पादनमूलक उद्योगमा भएको प्रवेश महत्त्वपूर्ण पाइला साबित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरए ।
औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिजले प्रत्यक्षरूपमा ३०० बढी र अप्रत्यक्षरूपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा बिक्रेता र किसानहरू समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई अवसर दिन थालेको छ ।
अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवर्द्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आमनेपाली नागरिकको सोच तथा सपनासँगको हातेमालोका रूपमा लिन पनि आग्रह गरए ।
नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षका रूपमा ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानूनहरू निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गरए।
उहाँले देशको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानूनहरू निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरू सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको महसूस गरेको पनि उल्लेख गरए ।
‘स्वदेशी होस् या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भएरनभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरू वर्षमै सञ्चालनमा आए भने त्यसले देशमा लगानीको वातावरण छ भन्ने अर्थ आफैं लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिन्छ’, उहाँले भनए ।
त्यस अवसरमा अध्यक्ष ढकालले पाथीभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले देशमा लगानी र व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशङ्का रहेको समेत उल्लेख गरए ।
ताप्लेजुङका स्थानीय नागरिक, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथीभरामा केबलकारको निर्माण परियोजना शुरू गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले यो प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्य–मान्यता र पर्यावरणीय सन्तुलनजस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लावासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए ।
काम शुरू भएलगत्तै जिल्लाभन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृतिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएकोतर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।
पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारभरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरूमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए ।
बदलिँदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सिर्जना गर्ने कर्मशिलहरूलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरूलाई उपयोग गर्दै समृद्धितर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वानसमेत गरए ।
सबै राजनीतिक दलका नेताहरू, सबै सङ्घ–संस्थाका नेतृत्व वर्गलाई पूर्वाधार विकास, रोजगारी सिर्जना, आमनागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य स्रोत सिर्जना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता पनि अध्यक्ष ढकालले औँल्याए ।
पूर्वाधार निर्माण, आर्थिक विकास र आमनागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा नकारात्मक राजनीति नगर्न र पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने रोजगारी सिर्जना हुने, राजश्व वृद्धि हुने हो र देश सम्मृद्ध हुनेमा कसैको दुईमत नरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरए।
आज उद्घाटन भएको उद्योगको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा अब त्यो अवस्था नरहने बताए। ‘देशकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन । साना तथा हाते कागज उद्योगहरूले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा योगदान गरे पनि पर्याप्त छैन’, उहाँले भनए ।
त्यस अवसरमा अध्यक्ष ढकालले आईएमई समूहको व्यावसायिक अभियानका प्राथमिकताका बारेमा पनि उल्लेख गरए। पहिलो राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने र तेस्रो देशको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने उहाँले बताए ।
‘रेमिटेन्स, बैंक, बीमा, सूचना प्रविधि, जलविद्युत् र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् । यस कारखानाले प्राथमिकता पूरा गर्न सक्दछ’, ढकालले भनए ।





