काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।
सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनी मार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।





