नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आएका पाकिस्तानी टी २० टिमका कप्तान साहिब्जादा फरहान प्रतियोगिता सुरु हुनु अगाडि नै स्वदेश फर्किएका छन् ।
उनलाई पाकिस्तानी क्रिकेट बोर्डले इमेल गरेर नेसनल ड्यूटीका लागि तत्काल फर्किन भनेको थियो ।
कर्णाली याक्समा आवद्ध भएका फरहान नो अब्जेसन लेटर (एनओसी) समेत पाइसकेर नेपाल आएका थिए । तर प्रतियोगिताको पूर्वसन्ध्यामा पिसिबीले नयाँ शर्त राखेर खेलाडीहरुको एनओसी होल्ड गरिदियो ।
पीसिबीले प्रतिखेलाडी २५ हजार डलरका दरले अतिरिक्त रकमको माग गरेको छ । अन्यथा खेलाडीहरूलाई एनओसी नदिने र दिएको पनि रद्द गर्ने चेतावनी उसको छ ।
यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) र पिसिबीबीच अझै पनि संवाद भइरहेको स्रोतले बतायो । तर पिसिबीले अडान छोडेको छैन । त्यसैले पाकिस्तानी सामेल पाकिस्तानी खेलाडीहरूले खेल्ने अझै पनि अनिश्चित नै छ ।
फरहानका हकमा भने पिसिबीले हाल पाकिस्तानमा जारी श्रीलंका र ईंग्ल्याण्डसँगको त्रिकोणात्मक सिरिजका लागि अचानक टीममा समावेश गरेको थियो । सिरिजकै बीचमा ओपनर साइम अयूबलाई हटाएर फरहानलाई टिममा राखिएको हो । त्यसैले फरहान हिजै पाकिस्तान फर्किएका छन् । उनी एनपिएल सुरु हुनुअघि ३ बजेको फ्लाइटबाट उडेका हुन् ।
फरहान एनपीएल खेल्न निकै उत्साहित थिए । फर्किँदा निकै निराश बनेको कर्णाली याक्स स्रोतले बतायो । उनले एयरपोर्टमा आफ्नो फोटो-भिडिओ पनि नखिच्न आग्रह गरेका थिए ।
यद्यपि फरहानले आफू ३१ तारिखपछि एनपीएल खेल्न आउने वाचा गरेका छन् । पीसीबीले मागेको २५ हजार डलर आफ्नै पारिश्रमिकबाट कटाएर पनि एनपीएल खेल्न उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।
‘उहाँ रकममा सम्झौता गर्न पनि तयार हुनुहुन्छ । त्यसैले सम्भवतः ३१ तारिखपछि आउनुहुन्छ होला,’ स्रोतले भन्यो ।
फरहानले नेपालमा दुई रात बिताए । एकदिन टिमकाे ट्रेनिङमा सहभागी भए । पहिलाेपटक नेपाल आएका उनी निकै हर्षित थिए ।
फरहानले आज पाकिस्तानी एक दिवसीय टिमबाट श्रीलंकाविरुद्ध खेल्ने छन् । पाकिस्तान प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । ३१ तारिखमा हुने फाइनलपछि उनी नेपाल आउने योजनामा रहेका हुन् ।
कर्णाली याक्समै आवद्ध अर्का पाकिस्तानी खेलाडी हुसेन तलात भने नेपालमै छन् । उनले सम्भवतः आज हुने कर्णाली याक्सको म्याच खेल्ने छन् ।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले क्यान र पिसीबीबीच संवाद जारी रहेकाले पाकिस्तानी खेलाडीहरूले खेल्ने विषयमा आफूहरु अझै आशावादी रहेको बताए ।




