काठमाण्डौं ।आइतबार रातिदेखि निर्वाचन आचारसंहिता लागू हुनुअघि नै सरकारले ८ जना सहसचिवको सरुवा गरेको छ ।
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका ४ जना र स्वास्थ्य सेवाका ४ जना गरेर ८ जना सहसचिवको सरुवा गरिएको हो ।
सरुवा सूची अनुसार सहसचिव प्रदीप परियारलाई सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पठाइएको छ । सूचना तथा प्रसारण विभागको महानिर्देशक रहेका बेला भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका उनले सफाइ पाइसकेका छन् ।
यस्तै जेन-जी आन्दोलनताका काठमाडौंको सीडीओ रहेका छविलाल रिजाललाई ४ महिनापछि जिम्मेवारी दिइएको छ । जेन-जी आन्दोलनमा आन्दोलनकारीमाथी दमन गरिएको आरोप लागेपछि उनीमाथि सरकारले गठन गरे जाँचबुझ आयोगले अनुसन्धान गरिरहेको थियो । सामान्यको अतिरिक्त समूहमा रहेका रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा कामकाजमा खटाइएको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेका सहसचिव केदारनाथ शर्माको अर्थ मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश अन्तरगत कार्यरत धमेन्द्रकुमार मिश्रको गृहमा सरुवा भएको छ ।
स्वास्थ्य सेवातर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा कार्यरत विश्वबन्धु बगालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डन्ट रहेका युवानिधि बसौलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश अन्तगत कामकाजमा खटाइएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कार्यरत ओमप्रसाद अर्यालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत अस्पतालको प्रमुख कन्सलटेन्ट आयुर्वेद विज्ञ पदमा कार्यरत रामआधार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश अन्तरगत कामकाजमा खटाइएको छ ।





