काठमाण्डाै –काठमाण्डाैमा प्लास्टिक प्रदूषण नियन्त्रणमार्फत जलवायु परिवर्तनकाे प्रभाव घटाउन विद्यार्थी–केन्द्रित पहल शुरू भएको छ ।
दक्षिण एशियाली युवा दिगो विकास लक्ष्य अर्थात् (एसएवाईएस) ले कोनराड एडेनाउर फाउन्डेशन (केएएस) को सहयोगमा ‘क्लाइमेट स्मार्ट स्कूल’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
१६ जनवरीमा काठमाण्डौको सानोभर्याङमा रहेको एनआईसी एकेडेमीमा शुरू भएको यस पहलमा नेपाल, भारत र अफगानिस्तानका केएएस स्कलरहरूबाट बनेको एसएवाईएस टोलीले सहभागिता जनाएको छ । कार्यक्रममा केएएसका निर्देशक आन्द्रेयास क्लाइनले औपचारिक रूपमा विद्यालयलाई मौसम मापन उपकरण, प्लास्टिक फोहोर वर्गीकरणका लागि निला डस्टबिन र विद्यार्थी कीट हस्तान्तरण गरे ।
प्लास्टिक फोहोरको बढ्दो बोझ जलवायु परिवर्तनको प्रत्यक्ष र स्पष्ट कारक भएको एसएवाईएसले जनाएको छ । प्लास्टिक प्रदूषणको समाधान अब जलवायु कार्यको केन्द्रविन्दु बनेकाले समुदायस्तरमै तत्काल कार्य आवश्यक रहेको संस्थाले बताएको छ । एक किलोग्राम प्लास्टिक पुनः प्रयोग गर्दा वातावरणमा चार किलोसम्म कार्बनडाइअक्साइड उत्सर्जन रोक्न सकिने तथ्यलाई पनि कार्यक्रमले उजागर गरेको छ ।
प्लास्टिक फोहोरको स्रोतमै वर्गीकरण सुदृढ गर्न प्रदान गरिएका निला डस्टबिनले विद्यालयमा पहिल्यै प्रयोगमा रहेका हरिया र रातो डस्टबिनलाई पूरक बनाउनेछ । हरिया डस्टबिनमा जैविक फोहोर र रातो डस्टबिनमा जोखिमयुक्त फोहोर राखिने व्यवस्था भइसकेको छ भने निला डस्टबिनले प्लास्टिक फोहोरलाई छुट्टै सङ्कलन गर्दै फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछ । यसले प्लास्टिकको पुनः प्रयोग र रिसाइकलिङमा समेत सहजता ल्याउने अपेक्षा छ ।
यस्तै प्रदान गरिएको मौसम मापन उपकरणले तापक्रम, वर्षा र चरम मौसमी घटनाहरूको अनुगमन गर्नेछ । यस प्रणालीले विद्यालयलाई जलवायुसम्बन्धी जोखिमहरूप्रति अझ प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन सक्षम बनाउनेछ ।
क्लाइमेट स्मार्ट क्लबमार्फत निक एकेडेमीका विद्यार्थीहरूले फोहोर वर्गीकरण, पुनः प्रयोग र जिम्मेवार स्रोत व्यवस्थापनबारे सहकर्मी–आधारित जनचेतना कार्यक्रमको नेतृत्व गर्नेछन् । जलवायु परिवर्तन र दिगो अभ्यासबारे सचेतना बढाउन वितरण गरिएका विद्यार्थी किटले युवा पुस्तालाई जलवायुसम्बन्धी ज्ञान हासिल गर्न र प्लास्टिक प्रदूषणविरुद्ध सक्रिय शक्ति बन्न मद्दत गर्नेछ ।
विद्यालय समुदायभित्र जलवायु सहनशीलता सुदृढ गर्ने यो पहलले कक्षाकोठाभन्दा बाहिरसम्म फैलिने दीर्घकालीन व्यावहारिक परिवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । जानकारीयुक्त विद्यार्थी, व्यावहारिक उपकरण र क्षेत्रीय सहकार्यले विद्यालय तहमा जलवायु सहनशीलता कसरी सुदृढ गर्न सकिन्छ भन्ने कुरालाई यस कार्यक्रमले उजागर गरेको एसएवाईएसले जनाएको छ ।





