धनगढीः कैलाली जिल्ला कारागारबाट स्थानान्तरण हुने कैदीबन्दीको सङ्ख्या १४ पुगेको छ।
कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भइ उपचारपछि डिस्चार्ज भएका सात जना कैदीबन्दीलाई आज स्थानान्तरण गरिएको छ। चार जनालाई जिल्ला कारागार डडेल्धुरा र तीन जनालाई जिल्ला कारागार डोटीमा स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ।
गत साउन २३ गते राति कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका उनीहरू उपचारपछि पनि सेती प्रादेशिक अस्पतालमा थिए।
यसअघि सेतीमा उपचारपछि डिस्चार्ज भएका तीन जनालाई कञ्चनपुर तथा एक जनालाई नवलपरासी स्थानान्तरण गरिएको थियो। त्यस्तै उपचारका लागि काठमाडौं पठाइएका तीन जना कैदीबन्दीलाई यसअघि नै त्यहीँको कारागारमा स्थानान्तरण गरिएको कैलाली कारागारका प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए।
स्थानान्तरणका लागि कैदीबन्दीबाट निवेदन माग गरिएको उनले बताए। कारागार प्रशासनका अनुसार उपचारपछि डिस्चार्ज भएर अस्पतालमै रहेका थप केही कैदीबन्दीलाई पनि कारागार व्यवस्था विभागको अनुमतिमा स्थानान्तरणको तयारी छ।
कैलाली कारागारमा गत साउन २३ गते राति भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए। कैदीबन्दी धनगढी उपमहानगर–४का भरत चौधरीको मृत्यु भएको थियो। घाइते ४८ मध्ये हालसम्म १४ जनालाई अन्य कारागारमा स्थानान्तरण गरिएको र बाँकी कैदीबन्दीलाई डिस्चार्जपछि सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको कारागार प्रशासनले जनाएको छ।
घटनामा घाइते भइ उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीको व्यवस्थापनमा समस्या छ। कारागारमा लैजाँदा पुनः झडपको स्थिति आउन सक्ने अनुमानसहित डिस्चार्जपछि पनि उनीहरुलाई अस्पतालमै राखिएको हो। सेती प्रादेशिक अस्पतालले घाइते २७ जना कैदीबन्दीलाई उपचारपछि अस्पतालले गत साउन २७ गते नै डिस्चार्ज गरेको थियो।
डिस्चार्ज भएका कैदीबन्दीको खानाको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ। कैदीबन्दी राखिएको कोरोना अस्पतालमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चौबिसै घण्टा तैनाथ गरिएको छ।





