मंगलसेन । लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठूलो केदारनाथ मेला यस बर्ष प्रारम्भ भएको छ ।
केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।
‘जामाको जात्रा’ नामले प्रख्यात उक्त मेलामा देउताको पूजाआजा र धामीको नाच, डेउडा खेलसँगै मेला लाग्ने गर्दछ ।
कमलबजार नगरपालिका –७ जामा गाउँमा लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताले धेवर लगाई त्रयोदशीका दिन ‘खला नाच्ने’ परम्परा रहेको पुजारी खगेन्द्र उपाध्यायको भनाइ छ ।
डोटेली संस्कृतिमा आधारित देवता नाचका लागि छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलालीबाटसमेत दर्शनार्थीहरु आउने गरेका छन् ।
केदारको मेलाका लागि जिल्ला बाहिर बसाइ रहेका स्थानीय पनि फर्केका छन् । पशु बलि नदिइने यस मेलामा दुध र घ्युको मात्र प्रसाद ग्रहण गर्ने गरिन्छ ।





