धनगढी – सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरूको हातेमालो आवश्यक रहेको बताएका छन् ।
वर्ल्ड भिजन इन्टरनेस्नल, नेपालद्वारा कैलालीको धनगढीमा आयोजित ‘ईनअफ’ अभियानको प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।
सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्था र प्रदेश सरकारबीच समन्वयको अभाव भएको बताउँदै मुख्यमन्त्री शाहले प्रदेशका बालबालिकामा कुपोषण अन्त्य गर्न सहकार्यमा जोड दिए ।
उनले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणका समस्या रहेको जसको नैतिक जिम्मेवारी प्रदेश सरकार लिन तयार रहेको बताए ।
विगतमा पनि आफूले कुपोषण अन्त्य गर्न पोषणकीटको अभियान सञ्चालन गर्न चाहे पनि संघसंस्थाहरुले सहयोग गर्न नखोजेको उनले दुखेसो पोखेका छन् ।





