बाग्लुङ – बाग्लुङकाे निसीखोला गाउँपालिका–२ अर्नाकोटमा लगाएको एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित भएका छन् ।
समुद्री सतहबाट झन्डै दुई हजार मिटर उचाइमा रहेको अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउमा एक वर्षमै फल लागेपछि स्थानीयबासिन्दाले अहिले व्यवसायिक स्याउखेती गर्न थालेका छन् ।
२०७८ सालमा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती शुरु गरेका थिए । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा नै फल लागेको हो । अहिले अरू किसान पनि स्याउ खेतीमा आकर्षित भएका छन् ।
पहिलो वर्ष ६०, दोस्रो वर्ष थप ९० र यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए । उनका अनुसार यसअघि लगाएका बोटमा स्याउ राम्रै फलेको छ ।
आफूले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लगाएको र अहिले थप बढाएको अर्का किसान दुर्गाबहादुर ओलीले बताएका छन् ।
निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर बितरण गरेको बताइन् ।
गाउँपालिकाले चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको छ । अहिले अर्नाकोटमा किसानले झन्डै ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका गाउँपालिकाका कृषि प्राविधिक परियारले जानकारी दिइन् । रासस





