झट्ट सुन्दा र देख्दा सपना भन्ने बित्तिकै बन्द आँखाले निदाएको बेला देख्ने जीवित दृश्य भन्लान् टेक्निकल्ली हो पनि तर, मैले कुरा गर्न खोजेको सपना त्यो होइन। म त त्यो सपनाको कुरा गर्दैछु, जुन होसमा भएको बेला खुल्ला आँखाले देखिन्छ। त्यो सपना देखाउने मन रहेछ। शरीरलाई कोठा वा कारागारमा कैद गर्न सकिन्छ तर मनलाई ? शरीरलाई किलामा डोरीले बाँध्न सकिन्छ तर मनलाई ? शरीरलाई घाममा सुकाउँदै थन्काउन सकिन्छ तर मनलाई ? मन पापीलाई केही गर्न सकिन्न । मनकै लगाममा शरीर लत्रि रहन्छ।
त्यो जमाना हिक्मत ग्यावालीको थियो। गाउँमा आकर्षणको केन्द्र कोही थियो भने त्यो थियो हिक्मत ग्यावाली। गोरो वर्ण, अग्लो कद खाइलाग्दो ज्यान र टिलिक्क परेको पहिरन । ट्याब्रिकेटमा गीत सुन्दै दायाँ हातको दुई औँलामा याक चुरोट च्यापेर जब उनी फुइयँ… गर्थे मुखबाट आकाशमा उडेको सेतो धुवाँको रबाफ हेर्न लायक हुन्थो । ग्यावाली प्राय बम्बै गइरहन्थे फर्किदा आकर्षण व्यक्तित्व बनाएर आउँथे। मेरो बाल मस्तिष्कभरि त्यसबेला ग्यावाली एक्ला नायक थिए। त्यो जमाना ग्यावालीको थियो । काली खोलामा नुहाउन जादा होस् वा वनमा बाख्रा चराउन, जहाँ गएपनि मेरो दिमागभरि हिक्मत ग्यावाली घुमिरहन्थे।
दिनभरी उनकै जसरी कपाल कोरिरहन्थे टाउकोको बीचमा सिउडि गाडेर तेरेनामका जसरी, काइयो त मेरो खल्तीमा चौबीसै घण्टा हुन्थ्यो । एकदिन त काँक्राका सुकेका लहराहरूको चुरोट बनाएर सर्काउँदै मुखबाट फुइयँ… धुवाँ फ्याक्ने बेला ममा हिक्मत ग्यावालीको रवाफ चढेको थियो। तर, धुवा घाँटीमा लागेर होला खोक्दाखोक्दा आँसु नै आएको थियो। तैपनि ग्यावाली भन्ने भूत मबाट गएन।
त्यसको केही दिनमै ग्यावाली अपाङ्ग श्रीमती र दुधे बालक छोडेर बम्बई हानिए। घरमा अपाङ्ग श्रीमती र दुधे बालक छाडेर कसरी जान मन लाग्यो होला भनेर मलाई उदेग लागेर आयो। त्यसपछि मलाई त्यस्तो श्रीमान र बुवा हुन मन लागेन । मेरो बाल मस्तिष्कको सपनाबाट ग्यावाली ओझेल परे । एकदिन अवश्य हिक्मत ग्यावाली बन्ने आकांक्षा मरेर गयो।
यसभन्दा अगाडि गाडी मोटर कहिले देखेको थिएन । हाम्रो गाउँमा भर्खर भर्खर रोड काटिएको थियो। गाउँका बुढापाका भन्थे, “आब त हमारा दुःखका दिन गया, गाउँ ठाउँमा गाडी आइगै पैल्लीकि जानी आब भारी बोक्नु पर्दैन, माल जानाइ लै एकै दिनमि पुगिने हो। पैल्लकि जानी छै सात दिन लाईबर हिट्या दिन गया।”
हुन त हो अब भारी बोक्नु पर्दैन, हिड्नु पर्दैन । तर, कसले जोसँग पैसा छ जोसँग गाडी छ उसले । गरिबका दिन त उस्तै थिए, अझ कहिलेसम्म उस्तै हुने हुन् थाहा छैन। एकदिन कालु र म गाडी हेर्न रोडमा बसेका थियौं। करिब एक घण्टापछि जिप आयो र हामीलाई देखेर हर्न बजायो पि……प हामी तर्सिएर भाग्न खोज्यौं तर, बाटो पाएनौं। हामीलाई दौडेको देखेर जिप रोकियो र ड्राइभरले हामीलाई बोलायो। “ओइ फुच्चेहरू यहाँ आ त” हामी डराई डराई उतिर गयौं । जिपमा चढ्छस् ? ”है” कालुले सोध्ने बित्तिकै जवाफ दिइहाल्यो ।
सुरुमा चढ्दा त अलि डर लाग्यो बिस्तारै अगाडि बढ्दै बढ्दै जाँदा र ड्राइभरले नडराइ बस् केटा हो म छु भनेपछि निकै रमाइलो लाग्यो। म ड्राइभरलाई नियालिरहेको थिएँ। उसको हाउभाउ चाख लाग्दो थियो। कालो चस्मा लगाउन कहिल्यै छाड्दैनथ्यो, बीचबीचमा हँसाइराख्थ्यो । उसले जिप चलाएको र हाउभाउ देखेर म निकै प्रभावित भएको थिए र मनमा नै सोच्दै थिए पछि ठूलो भएर ड्राइभर बन्छु भनेर । त्यस दिनपछि कालु र म दिनदिनै ढुङ्गाको, काठको गाडी बनाएर खेलिरहन्थ्यौं । गाडी आकारको ढुङ्गा देख्यो भने हातले नै चलाएर मुखले लामो आवाज निकाल्दै पि….पिप….भन्दै खेल्थ्यौ।
तर, हप्ता दिन भइसकेको थियो हाम्रो गाउँमा गाडी आएको थिएन। मलाई गाडी नआएकोमा चिन्ता थिएन चिन्ता त मलाई मेरो सपनाको नायक ड्राइभर नआएकोमा थियो। पछि पो थाहा पाए ड्राइभरले शर्मिलालाई भगाएछ । गाउँमा कुरा काट्न सुरु भइसकेको थियो। “जान पनि कसकाका गई साला ड्राइभरका, जात परका गयालेले के हुन्थ्यो चौधरीका गई।” सबैले उनीहरूलाई छिछि र दूरदूर गर्न थाले । उनीहरूको त्यो गाली र बेइज्जती सुनेर मेरो ड्राइभर बन्ने सपना त्यही तुहियो।
त्यसै एकदिन काल्कुताका(रिठ्ठा) अन्टी(गुच्चा) खेल्ने बेला कालुले मलाई सोध्यो तलाई थाहा छ । के ? यो गाउँमा सबैभन्दा दुखी र खुखी एकमात्र मान्छे को हो भनेर ? म उसको प्रश्न सुनेर अचम्मित हुँदै भने, एकै मान्छे कसरी दुःखी र खुखी हुन्छ । उसले भन्यो, भन्न भन । मलाई थाहा छैन यार को भन्न त ? कालोको जवाफ, ‘बलराम।’ मैले सोधे किन, किनकि ऊ दुःखी यसकारण छ कि उसका कुनै सन्तान छैनन् र खुसी यस कारण छ कि उसकी दुईवटी श्रीमती छन् । उसको यो प्रसङ्ग सुनेर म अचम्मित भए र हाँसो पनि उठ्यो, र खेलमै व्यस्त भयौं । राति सुत्ने बेला कालुले बलरामका बारेमा भनेका कुरा सम्झिए रमाइलो लाग्यो । मलाई पनि ठूलो भएर बलरामको जसरी म पनि दुईटा बिहे गर्छु दुवैसँग सुत्छु, दुवै श्रीमतीले मलाई सहयोग गर्ने छिन् । कति आनन्दको जिन्दगी होला । यो कल्पना गरेरै म राति कतिबेला निदाएछु पत्तै भएन । बिहानै उठेर आफ्नो सपनाको नायकलाई हेर्न भनी उसको घरतिर लागे। तर, मैले जे देखे त्यो मेरा लागि अकालपनिय थियो। उसका दुवै श्रीमती एकअर्काको जग्ल्टा तानिरहेका थिए । एकअर्कालाई तथानाम गाली गरिरहेका थिए। बलराम ढोकाको कुनामा टाउको मुसारीरहेको थियो । सायद उसलाई पनि कुटेको हुनुपर्छ । बुढापाकाले त्यसै भनेका होइनन् “दुईजैको पोइ कुना बसि रोइ” । म त्यहाँबाट कुलेलाम ठोके कतिबेला घर पुगे थाहै पाएन । त्यसपछि बलराम बनेर दुई बिहा गर्ने सपना त्यही दिन ओझेल भयो, सायद त्यही सपना मेरो जीवनको छोटो सपना थियो, मात्र दुई दिनको।
वैशाख जेठको अन्तिम दिन रङ्गीन सिउँदो भएकी अनिता भाउजु मेरो सामुन्ने उभिइन । सायदै गाउँमा उनी जत्तिका राम्री युवती अरु कोही थिए होलान् । उनको सुन्दरता र यौवनको वर्णन कागजमा सायदै हुन्छ होला। कलपन्थे मलाई चाँडै जवान हुनु छ। इन्डिया जानु छ। अनिता भाउजुका लागि गरगहना लत्ता कपडा ल्याउनु छ। र एकदिन अनिता भाउजुसँग विवाह गर्नुछ। एकदिन भाउजुलाई तारणी दाइका बाहुपासमा देखेँ। उनी निर्वस्त्र भएर उनको अँगालोमा खितखिताउँदै थिइन् । मेरा रंगिन कल्पनाहरु छिनभरमै चक्नाचुर भए । छि ! फुँडी, कुरुपा, बेसर्मा र विश्वासघाती अनिता भाउजु । तारणी दाईसँग पनि त्यस्तै चलन भएर आयो। त्यसपछि दिनमा अनिता भाउजुसँग कुनै मोह बाँकी रहेन मेरो।
बाख्रा चराउँदै, काली खोलामा नुहाउँदै दिन बित्दै थिए एकदिन बाजेले मलाई चेतमान सरकामा लगिदिएर भने, “सर यसलाई पनि तमुइ झो बनाइदिया, पढाइमा ध्यान लगाउने बनाइदिया।” चेतनाम सरले मेरो हातमा कापी र कलम थमाइ दिनुभयो। सरले मलाई क ख रा सिकाइ दिनुभो साँझ खाना खाइसकेर पढ्न लागे, बाजेले म पढेको देखेर भन्नुभयो, “चेतमान सर जस्तो ठूलो बौद्धिक मान्छे बन्नु।”म खुशीले दङ्ग भए आहा चेतमान सर जस्तै। कठोर अनुशासन उच्च बौद्धिकता र शिष्य प्रियताले चेतमान सर सबैका हृदयमा बसेका थिए। आजकाल विद्यालयमा राजनीति पसेको थियो पछिल्लो दिनमा पढाइभन्दा बढी चुनावको चहलपहल र चिन्ता भइरहेको थियो । जुन सरलाई कदापि चित्त बुझिरहेको थिएन उनी बेला-बेला विरोध पनि गर्थे । एकदिन एक हुल मानिस आएर कालोमुसो र चप्पलको माला लगाइदिए र स्कुलबाट बर्खास्त गरिदिए। चेतमान सरको अवस्था देख्दा ग्वा-ग्वा रुन मन लाग्यो। आङमै मुत आउला जस्तो भयो । हत्तेरी ! बरु म बाख्रा गोठालो भएर खाउँला तर चेतमान सर जस्तो बन्दैन। मेरो सपना हरायो। चेतमान सर बन्ने धुन मेरो मानस्पटलबाट धुमिलो बन्दै धुलोमा मिल्यो।
एसएलसी पास गरे सहर पसे, धेरै मानिससँग चिनजान भयो । राम्रा-नराम्रा, धनी-गरिब, साइकलवाला-मोटरवाला, अनेक मानिससँग र अनेक सपनासँग । गाउँमा छँदा बम्बई गएका देखेको थिएँ तर, यहाँ आएपछि थाहा भयो मानिस अरु देश पनि जाँदा रहेछन् टन्न पैसा पनि कमाउँदा रहेछन्। मलाई पनि मन त नलागेको होइन विदेश जाने तर, आज पनि म खुल्ला आँखाले सपना देख्ने गर्छु । आज पनि मेरा नयाँ नयाँ नायक बन्छन्। कतिबेला सोच्छु पनि सहरमा गएर मैले के पढे? के बुझे जिन्दगीलाई मैले? कहाँ कहाँ चरी भनी उडि रह्यो मेरो जीवन। मेरो सपनाको नायक को हो? सानो प्रसन्नवाचक चिन्हका मुनि बसेर सोचिरहन्छु।
शुसिल बिष्ट





