पछिल्लो समय नेपाली युवा तथा विद्यार्थीहरू श्रम वा उच्च शिक्षा अध्ययनको शिलशिला लाई लिएर वैदेशिक यात्रामा गईरहेको देखिरहेका छौं। फेरि धेरै जसो युवा तथा विद्यार्थीहरू वैदेशिक यात्राको तयारी गर्दै नेपालका विभिन्न शहरहरुमा बसिरहेको पनि हामीले प्रसस्त मात्रामा देखिरहेका छौं। सायद मलाई लाग्छ यो देशमा ती युवा, विद्यार्थीहरुले आफ्नो भबिष्य सुनिश्चित हुने सम्भावना नदेखेर विदेशिन बाध्य भएका हुन् वा देशको बदलिँदो राजनीतिक, आर्थिक , सामाजिक, साँस्कृतिक आदि कारणले गर्दा युवा विद्यार्थीहरूको मानसिकतामा परिवर्तन आउने यस्तो किसिमको बाध्यात्मक परिस्थिति सिर्जना भएको हुन सक्छ । अथवा कुनै व्यक्तिहरूको विदेशको फरक किसिमको रहनसहन वा जीवनशैली लाई देखेर कतिपयले आफ्नो वैदेशिक यात्रा तय गरेको पनि हुन सक्छ । तर, समग्रमा भन्नुपर्दा नेपालको समसामयिक राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक परिवर्तनको कारणले गर्दा देश प्रतिको आशा, भरोसा र विश्वास ती सम्पूर्ण युवा, विद्यार्थीहरूले गर्न नसकिरहेका अवस्था छ भने नेपालको शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता प्रति आशा,भरोसा र अपेक्षा गर्न तथा त्यस प्रति सन्तुष्ट हुन सकिरहेका छैनन् । यस्ता यावत् कुराहरू छन् जसले गर्दा नेपाली युवा तथा विद्यार्थीहरूको मानसिकतालाई खलबल्याई रहेका छन् । जसको गहिरो प्रभाव देशमै बसेर केही नवीनतम विचारका साथमा काम गर्ने सुन्दर संकल्प बोकेका युवा, विद्यार्थीहरुको भविष्य र सपना माथि पनि परिरहेको छ। राज्यले देशमै स्वरोजगार तथा आर्थिक वातावरणसँग ती युवा,विद्यार्थीहरूलाई जोड्न त्यो किसिमको वातावरण सिर्जना गर्न सकेको भए सायद विदेश जानेहरूको संख्यामा पक्कै पनि गिरावट आउन सक्ने स्थिति देखिन्छ । किनकि दिन प्रतिदिन गिरावट हुँदै गइरहेको देशको अर्थतन्त्रले गर्दा युवा, विद्यार्थीहरूले बनाएका विभिन्न सकारात्मक योजनाहरू लाई पूरा गर्न सक्ने परिस्थिति सिर्जना हुन सकिरहेको छैनन्।त्यस कारणले पनि नेपाली युवा तथा विद्यार्थीहरू विदेशिन बाध्य भई रहेका छन्।
देशमा बढ्दो महंगी, चरम भ्रष्टाचार, ठगी–दलाली, हत्या–हिंसा तथा बलात्कार जस्ता सामाजिक विकृतिहरु दिनप्रति दिन बढदै गहिरहेका छन्। त्यसको नियन्त्रण र रोकथामको लागि राज्यले कुनै पनि उपायहरू अवलम्बन गर्न सकेको छैन्। त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्न जान्छ। देशको अर्थतन्त्रमा आएको नकारात्मक बदलावका कारणले गर्दा देशका नागरिकहरूमा त्यसको प्रत्यक्ष रूपमा प्रभाव परिरहेको हुन्छ। त्यसकारण ती सामाजिक विकृतिहरु लाई नियमन गर्न सरोकारवालाहरुले त्यही किसिमको नीति तर्जुमा गरी शीघ्र रूपमा कार्यान्वयन गर्न जरुरी देखिन्छ।
धेरै जसो नेपाली विद्यार्थी वर्गले नेपालमा आफ्नो भविष्य अनिश्चित, अन्योल र अन्धकार देखिरहेका छन्। विद्यार्थीहरूका सपना, र्इच्छा, आकांक्षा र चाहनाहरु असिमित होलान् तर, एउटा देशको नागरिकले आफ्नै देशभित्र गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्त गर्न पाउने अधिकार देशको प्रत्येक नागरिकको हुन्छ र प्रत्येक नागरिकलाई गुणस्तरीय, व्यावहारिक, प्राविधिक र सिपमूलक शिक्षा र स्वास्थ्य उपलब्ध गर्दै सुरक्षित र सुनिश्चित भबिष्यको प्रत्याभूति दिलाउनु राज्यको दायित्वमा पर्न जान्छ। राज्य सञ्चालन गर्ने राजनीतिक दलहरु हुन्। ती राजनीतिक दलहरुका विद्यार्थी संगठनहरुले पनि विद्यार्थीहरूका वास्तविक समस्याहरूको पहिचान गरी समाधान गर्न सकिरहेका छैनन्। विद्यार्थी संगठनहरुले बोल्नु पर्ने आवाजहरू बोलिरहेका छैनन्। संगठनहरुले बोक्नुपर्ने विद्यार्थीहरुका मुद्दाहरू बोक्न सकिरहेका छैनन्। विद्यार्थीहरुको नवीनतम विचार, भावी सम्भावनाहरू,सिर्जनात्मक कार्य र रचनात्मक अभियान संग सहकार्य गरी समृद्ध नेपाल निर्माणको यात्रा तय गर्न सकिरहेका छैनन्। मात्र आफू निकट रहेका दलहरुको झण्डा बोकेर सडक र सञ्जाल मार्फत दलको वकालतमा,दल प्रतिको बफादारितामा लिप्त भएको देखिन्छ। केही विद्यार्थी नेताहरु आफ्नो राजनीति भविष्य निर्माण गर्न देशका लाखौं विद्यार्थीहरुको सुन्दर भविष्य र सपना, नवीनतम विचार र सिर्जना माथि राजनीति गरिरहेका छन्। यसले गर्दा नेपाली विद्यार्थीहरूले स्वतन्त्र रूपमा आफ्ना शैक्षिक गतिविधिहरु सहजै सम्पन्न गर्न सकिरहेका छैनन्।
आज नेपालका विभिन्न विश्वविद्यालयहरू शैक्षिक व्यापारी र दलालहरुको भुमरीमा फसी रहेका छन्। त्यो भुमरी भित्र फसेर ती विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री वा कारखानाको रूपमा विकसित हुँदै गईरहेका छन्। व्यावहारिक ज्ञान तथा गुणस्तरिय प्राविधिक शिक्षा वा सीप प्रदान गर्ने उद्देश्य बोकेका विभिन्न सरकारी निकायहरु निजी शैक्षिक संस्थासँग मिलेर चन्दा र धन्दा चलाई शिक्षा क्षेत्रमा व्यापार गरी रहेका छ्न्।
जबसम्म शिक्षा क्षेत्रमा निजी लगानीलाई निरुत्साहित गरी सरकारी लगानीबाट निःशुल्क गुणस्तरीय, व्यावहारिक, प्राविधिक र सीपमूलक स्वास्थ्य तथा शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना हुँदैन। तबसम्म देशको स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रको अवस्था सुदृढ हुन सक्दैन। शिक्षा र स्वास्थ्य क्षेत्रको दलाली र व्यापारिकरण लाई निर्मूल पार्न सरकारले सोही अनुसारको नीति निर्माण गर्नुपर्छ। होइन भने देशको स्वास्थ्य र शिक्षाको गुणस्तरको अवस्थामा अझै गिरावट आउने देखिन्छ।
आज नेपाली समाजमा विभिन्न प्रकारका प्रश्नहरू उठिरहेका छन्। समाज निर्माण गर्न लागेका नेतृत्वकर्ताहरु भ्रष्टाचारको खेल खेल्दै छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको नेतृत्व गरिरहेकाहरु निजी संस्थाहरु खोलेर शिक्षा र स्वास्थ्यमा व्यापार वा दलाली गर्नैमा व्यस्त देखिन्छन्। यस्ता यावत् क्षेत्रहरू छन् जसमा नागरिकहरु लाई असहजताको भुमरीमा फसाई रहेका छन्।।
आजको बदलिँदो संसारमा शिक्षा र स्वास्थ्य जस्ता नागरिकहरूका आधारभूत आवश्यकताहरु देशका सम्पूर्ण नागरिकहरूले निःशुल्क रूपमा गुणस्तरीय सेवा प्राप्त गर्न सकेन भने समृद्ध देशको परिकल्पना अधुरै रहन सक्छ।त्यसैले देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न र शिक्षा क्षेत्र मार्फत नागरिकहरुलाई गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षा प्रदान गर्न स्पष्ट कार्ययोजना सहित शिक्षा नीतिलाई हालको समयमा सान्दर्भिक बनाउन गुणस्तरीय, व्यावहारिक, प्राविधिक तथा सीपमूलक शिक्षा प्रणालीको अवलम्बन गरी देशको समृद्धि, सुशासनसँगै नागरिक सचेतनाको विकासको निम्ति निःशुल्क शिक्षा र स्वास्थ्य अति नै आवश्यक देखिन्छ।।
पुर्णराज जैशी
अध्यक्ष : अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस, धनगढी





