धनगढीः सेती प्रादेशिक अस्पतालमा स्थान अभावका कारण १० तालको भवन निर्माणको योजना अलपत्र परेको छ।
सेती प्रादेशिक अस्पतालको प्रसूति तथा बाल स्वास्थ्यको पुरानो भवन रहेको क्षेत्रमा नयाँ आधुनिक १० तलाको नयाँ भवन निर्माणको योजना अलपत्र परेको हो।
सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईको भवन निर्माणको काम पूरा नभएकाले सेतीमा नयाँ भवनको काम रोकिएको छ।
सेती अस्पतालमा स्थान अभावका कारण गत आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको ३० करोड बजेट फिर्ता गएको छ। सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशीले गत आर्थिक वर्षमा १५ करोड संघीय अनुदान र १५ करोड प्रदेश सरकारको बजेट फिर्ता भएको बताए।
उनले भने, ‘हामीले डिपीआर बनाएका थियौँ। १० तलाको भवन हो। दुई तालको पार्किङ हो। १५ करोड समपुरक अनुदान थियो। १५ करोड हामीले पनि राखेका थियौँ। तर, सहरी विकासको भवनको काम पूरा नभएकाले स्थान अभाव भयो। हामीले समयमा काम गर्न सकेनौँ।’
नेपाल सरकारको १५ करोड अनुदानमा प्रदेश सरकारले भवन निर्माण गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गरेको भए पनि अहिले आएर भवन निर्माणको योजना रोकिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि भवन निर्माणका लागि गत आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन गरेको थियो। तर, स्थान अभावको कारण देखाउदै प्रदेशको सामाजिक विकास मन्त्रालयले ठेक्का सम्झौता गरेन।





