धनगढी — कक्षाकोठाभित्र सीमित रहने पढाइलाई व्यवहार, संवाद र नेतृत्वसँग जोड्दै धनगढीको चैतन्य पाठशालाले आयोजना गरेको दोस्रो चैतन्य विद्यार्थी महोत्सव विद्यार्थीको सर्वाङ्गीण विकासका लागि वरदान सावित भइरहेको छ।
महोत्सवको विशेषता के छ भने यहाँ विद्यार्थी केवल दर्शक होइनन्, केन्द्रिय पात्र हुन्। समाजका अनुकरणीय व्यक्तित्वहरूसँग विषयगत संवाद, प्रश्न–उत्तर, अनुभव आदान–प्रदानदेखि लिएर कार्यक्रम सञ्चालनसम्म, हरेक गतिविधिमा विद्यार्थीको सक्रिय सहभागिता देखिन्छ। यसले उनीहरूमा आत्मविश्वास, अभिव्यक्ति क्षमता र आलोचनात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
धनगढीका विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिले महोत्सवलाई अझ जीवन्त बनाएको छ। फरक–फरक पृष्ठभूमिका विद्यार्थीहरू एउटै मञ्चमा उभिएर विचार साटासाट गरिरहेका दृश्यले सिकाइको दायरा कति फराकिलो हुन सक्छ भन्ने स्पष्ट देखाएको छ।
चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी ले भने, “महोत्सवका हरेक गतिविधिमा विद्यार्थीको स्पष्ट भूमिका छ। उनीहरू स्वयं कार्यक्रमको योजना, सञ्चालन र संवादमा संलग्न छन्। यही अभ्यासले विद्यार्थीलाई भविष्यका जिम्मेवार नागरिक बनाउन सहयोग गर्छ।”महाेत्सवमा चैतन्य पाठशालाले सुदूरपश्चिममै बसेर सुदूरका् विकासलाई याेगदान पुर्याउँदै आएका व्यक्तिलाई सम्मान पनि गरिरहेकाे अध्यक्ष जाेशीले बताए।
महोत्सव केवल कार्यक्रमहरूको श्रृङ्खला मात्र होइन, विद्यार्थीलाई सोच्न, बोल्न र नेतृत्व गर्न सिकाउने प्लेटफर्म बनेको छ। पुस्तकमा सीमित ज्ञानलाई व्यवहारसँग जोड्ने यो प्रयासले शिक्षा केवल अंक र परीक्षा मात्र होइन, जीवनका लागि तयारी हो भन्ने सन्देश प्रवाह गरेको छ।
अहिले चैतन्य विद्यार्थी महोत्सव खेलकुद, सम्वाद र आविष्कारकाे केन्द्र बनेकाे छ।





