बैतडी ।खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि दुई वटा सामुदायिक वनमा पानी सञ्चित गर्ने प्रजातिका १० हजार बोटबिरुवा रोपिएका छन् ।
डिभिजन वन कार्यालयको वन विकास कार्यक्रम अन्तर्गत सिगास गाउँपालिकाको शेला सामुदायिक वनमा बाँज, काफल, चाँप, बाँस, टिमुर, तेजपत्तालगायका पाँच हजार बोट रोपिएका छन् ।
मेलौली नगरपालिका–९, विशालुरको असुर मौजा सामुदायिक वनले आफ्नै लगानीमा काफलका पाँच हजार बोट रोपेको छ ।
सिगासको शेला सामुदायिक वनमा डिभिजन वन कार्यालयले वृक्षरोपणका लागि पाँच लाख ८६ हजार रुपियाँ खर्च गरेको वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले बताए ।
मेलौलीमा भने प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा कार्यालयको तीन लाख रुपियाँमा ओखर, काफललगायत बिरुवा रोपिएको हो ।





