काफल यो शब्द उच्चारण गर्नेबित्तिकै नेपाली जनजीवनको स्वादिलो स्मृति ताजा हुन्छ। हरेक वर्ष वैशाख–जेष्ठको आसपास पहाडी भेगका डाँडापाखामा राताम्य काफल पाक्छ, जंगलहरू रंगिन बनाउँछ, र गाउँघरका बाटाहरू चहलपहलले भरिन्छन्। एकातिर स्वादिलो फलको आनन्द, अर्कातिर आर्थिक सम्भावनाको ढोका खोल्ने काफल अहिले सुदूरपश्चिम लगायतका पहाडी भेगका लागि सम्भावनाको बोट बनेको छ।
काफलको उत्पत्ति र इतिहास
काफल नेपालको मध्यपहाडी तथा उच्च पहाडी क्षेत्रमा पाइने जंगली फल हो। विशेषतः १,००० मिटरदेखि २,२०० मिटर उचाइसम्मका वनजंगलमा काफलको बोट उम्रन्छ। वैज्ञानिक रूपमा माइरिका स्टुलेन्टा नामले चिनिने काफल विशेषगरी सल्लाघारी, चौँरी र पत्थरीलो जमिनमा सजिलै हुर्कन्छ।
हिस्ट्री अफ बोटानिकल एक्सप्लोरेसन इन नेपाल का अनुसार ब्रिटिस वनस्पतिविज्ञ फ्रान्सिस बुखानन हेमिल्टनले सन् १८०२ देखि १८०३ ताका र नथानियल वालिचले १८२० देखि १८२१ को समयावधिमा नेपालको भ्रमण गरे। उनीहरूले रक्सौल (वीरगञ्ज, हेटौडा, भीमफेदी) थानकोट भएर राजधानी काठमाडौँ प्रवेश गरेका थिए। उनीहरुले उक्त समयावधिमा काठमाडौँ वरपर लगायत भ्रमण क्षेत्रबाट थुप्रै बनस्पतिका नमुनाहरू सङ्कलन गरे र ती नमुनाहरु बेलायत र्पुयाए। वनस्पति वैज्ञानिक डेविड डनले अध्ययन गर्ने क्रममा काफलको नमुना नौलो थियो र त्यसले वैज्ञानिक नाम प्राप्त गरेको थिएन। अन्तर्राष्ट्रिय नामाकरण पद्धति अनुसार काफलको वानस्पतिक नाम माइरिका स्कुलेन्टा दिए। अर्थात् काफलले विधिवत तरिकाले सन् १८२५ मा नागरिकता प्राप्त गर्याे । काफल विश्वमा पहिलोपटक नेपालबाट पत्ता लागेको वनस्पति प्रजाति हो।
सदियौँदेखिको मौखिक परम्परा र जनजीवनमा यसले खेलेको भूमिका हेर्दा यो फल यहींको मौलिक सम्पदा हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। काफल सँग जोडिएको मिथक, गीत–सङ्गीत र लोककथाहरू नेपाली पहाडको सांस्कृतिक सम्पदा बनेका छन्।
काफल र सुदूरपश्चिमका जनताको जीवन
सुदूरपश्चिम नेपालको डोटी, बझाङ, बाजुरा, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, कैलालीका पहाडी भेगमा काफल प्रचुर मात्रामा पाइन्छ। यी जिल्लामा गर्मी सुरु हुनासाथ स्थानीयहरू काफल टिप्न वनतिर लाग्छन्। काफल टिप्ने, टोकरामा सिँगारी बजार ल्याउने, सडकछेउमा बस्ने र किलोका हिसाबले बेच्ने – यो चक्र हरेक वसन्तमा दोहोरिन्छ।
हालैका वर्षहरूमा काफलको व्यापारले स्थानीयहरूलाई उल्लेखनीय आम्दानी दिन थालेको छ। बजारमा एक किलो काफलको मूल्य रु. ४०० देखि ५०० सम्म पर्छ, जबकि यसलाई टिप्न लागत झण्डै शून्य जस्तै हुन्छ। यसले स्थानीय युवालाई रोजगारी दिन्छ भने महिलालाई आर्थिक स्वतन्त्रता। एक सिजनमै एउटा गाउँबाट लाखौँ मूल्य बराबरको काफल बिक्री हुने गरेको उदाहरणहरू पाइन्छन्।
संभावनाहरू र सरकारी पहल
काफललाई यदि व्यवस्थित रूपमा ”High–Value Seasonal Forest Product” को रूपमा प्रवर्धन गर्न सकियो भने सुदूरपश्चिमका पहाडमा बस्ने धेरै परिवारको जीवनस्तर उकास्न सकिन्छ।
काफललाई स्थानीय सरकारले विशेषरुपमा खेति प्रविधि विकाश गर्नु पर्ने
काफललाई वडा सरकारले विशेषरुपमा खेति प्रविधि विकाश गर्नु पर्ने देखिन्छ। काफललाई वडा तथा सामुदायीक वनले आफ्ना वनहरुमा फेलाउन सके काफलले स्थानीय स्तरमा सिजनल रोजगारी प्रदान गर्न महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ। काफलको बोक्रा र फल आर्युवेदिक औषधि उत्पादनमा पनि महत्वपूर्ण मानिएको हुन्छ।
काफल सङ्कलन र बिक्री केन्द्र स्थापनाः
पहाडी गाउँमा काफल सङ्कलन गर्ने, प्याकेजिङ गर्ने र शहरतिर पठाउने केन्द्रहरूको स्थापना गर्न सकिन्छ। यसबाट उत्पादकले उचित मूल्य पाउनेछन्।
सडक र यातायातको सहजताः
धेरैजसो काफल उत्पादन हुने क्षेत्र सडक सुविधाबाट टाढा छन्। यसलाई बजारसम्म ल्याउन सहज पहुँच आवश्यक छ।
काफल प्रशोधन उद्योग स्थापनाः
काफलको जुस, मसलायुक्त पाउडर, अचार, ड्राइड फ्रुट आदि उत्पादन गर्न सकिने उद्योग स्थापना गरिएमा सिजनपछिपनि आम्दानीको स्रोत बन्न सक्छ।
ब्रान्डिङ र निर्यात प्रवर्धनः
”Organic Wild Berries from Far–West Nepal” भनेर अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न सकिनेछ। यसमा सरकारले सहजीकरण गर्न सक्छ।
स्थानीयलाई तालिम र प्रविधिः
टिप्ने, संकलन गर्ने, गुणस्तर जाँच गर्ने, भण्डारण गर्ने जस्ता सीपमा तालिम दिएर उनीहरूलाई आत्मनिर्भर बनाउनु आवश्यक छ।
काफल केवल जङ्गली फल होइन, यो हाम्रो पहिचान, हाम्रो सम्पदा र हाम्रो सम्भावना हो। विशेष गरी सुदूरपश्चिमका लागि काफल जीवन बदल्ने एउटा “सीजनल अर्थतन्त्र“ बन्न सक्ने क्षमतामा रहेको छ। अब आवश्यकता हो — सरकार, स्थानीय तह, गैरसरकारी संस्था र समुदायको साझा पहल। यदि यथोचित योजना बनाइयो र लगानी गरियो भने, भोलिका दिनमा काफल सुदूरपश्चिमको समृद्धिको प्रतीक बन्न सक्छ।





