अछाम –निर्माण थालनी भएको ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ ।
कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको संयुक्त पहल र सहयोगमा कमल बजार विमानस्थलमा आइतबारदेखि व्यावसायिक उडान सुरु भएको हो ।
यसअघि फागुन २५ देखि नियमित उडान हुने भनिए पनि सो दिन मौसम प्रतिकूल भएपछि पहिलो उडान नै अवरुद्ध भएको थियो । निर्माण थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो । हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता अनुसार व्यावसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए ।
आइतबार कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख शारदा कुँवरलगायत १५ जना सो जहाजमा सवार रहेका थिए भने, जहाज फर्किने बेला पनि १५ जना यात्रु लिएर उक्त जहाज नेपालगन्जका लागि उडेको थियो । नेपालगन्जदेखि कमलबजारसम्म २५ मिनेटको समय लागेको नगरप्रमुख ढकालले बताए । तारा एयरको ट्विनअटर विमान क्याप्टेन जीवनकुमार श्रेष्ठले उडाएका थिए ।





