हेटौंडा ।हेटौंडा उपमहानगरपालिका-९, स्थित धापमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो २:५० बजे ठक्कर दिँदा धापका ५ वर्षका शिवांश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
ठक्करबाट गम्भीर घाइते शिवांशलाई उचारका लागि हेटौंडा अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने मोटरसाइकल चालक १८ वर्ष भन्दा कम उमेरको रहेको प्रहरीले जनाएको छ । हाल प्रहरी हिरासतमा रहेका उनको नाम प्रहरीले खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितका अनुसार मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मोटरसाइकलले सडक छेउमा हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।





