काठमाण्डौ –दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।
त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ ।
लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो ।
लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।





