काठमाण्डौँ :काठमाण्डौँ महानगरपालिकाको नगरसभा आइतवार बोलाइएको छ।
आज बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले आइतवार(असार २९) गते दिउँसो २ बजे सभा बस्ने जानकारी दिए।
प्रमुख शाहले बिहान ९ बजे कार्यपालिका र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमा सबै सदस्यहरूले सहमति जनाएसँगै उनले नगरसभाबारे जानकारी दिएका हुन्।
काठमाण्डौँ महानगरपालिकामा काठमाडौँ भ्यूटावर विवादका कारण झण्डै ७ महिनापछि आज कार्यपालिका बैठक बसेको हो।
बिहानै महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भयो। उक्त बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण गरेको छ।
नगरसभामा बैठकमा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने कार्यसूचि छ।





