काठमाण्डौँ :नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मुलुकमा शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेकोमा आपत्ति जनाएका छन्।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उनले एक अंगले अर्कोको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको आरोप लगाएका हुन्।
घिमिरेले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको भन्दै एउटा फैसला हुन १५ देखि २० वर्षसम्म लाग्ने स्थितिमा जनताले कसरी न्याय पाउँछन् भनी प्रश्न गरे। उनले भने, ‘जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ, तर सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ। सर्वोच्चमा गएर वर्षौंसम्म एउटा मुद्दा अड्किन्छ, त्यसलाई कसरी हटाउने?’
उनले संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेको र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको भन्दै यसले शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर पारेको दाबी गरे।
प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरूका बारेमा कतै मुद्दा गर्न नपाइने र कारबाही पनि नहुने संवैधानिक व्यवस्थाबारे संकेत गर्दै, यी विषयमा थप स्पष्टताको आवश्यकतामा जोड दिए।





