पर्वत :जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा आयोजना गरिएको गण्डकी महिमा धनधान्याचल ज्ञान महायज्ञमा दुई करोड भन्दा बढी रकम सङ्कलन भएको छ।
विद्यालयमा ठुलो धन राशिको कोष निर्माण गर्ने र त्यसबाट आउने ब्याजबाट विद्यालयका शैक्षिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि महायज्ञको आयोजना गरिएको थियो। स्थानीय शिक्षक तथा महायज्ञका अभियन्ता जयराम सुवेदीका अनुसार अन्न र जग्गा बाहेक नगद मात्रै दुई करोड १९ लाख ४६ हजार दुई सय ५६ रुपैयाँ सङ्कलन भएको छ।
महायज्ञमा राम्रो परिमाणमा अन्नबालीहरू पनि सङ्कलन भएका छन्। ती के कति मात्रामा सङ्कलन भए भनेर नापतौलको काम भलिरहेको सुवेदीले बताए। गत माघ सात गतेदेखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा दुई करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। नौ दिनसम्म चलेको महायज्ञको उद्घाटन अनन्तश्रीविभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले गरेका थिए भने कथा वाचन आचार्य श्री चैतन्यकृष्ण महाराजले गरेका थिए।
विद्यालयको दिगो सञ्चालन, स्तरोन्नति तथा संस्कृत शिक्षालयको रूपमा विकास गर्नका लागि महायज्ञबाट उठेको रकमले सहयोग पुग्ने महायज्ञ मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद रिजालले बताए। पार्वतीको पवित्र जन्मभूमिको रूपमा रहेको पाङ क्षेत्रको प्रचार प्रसार प्रवद्र्धन एवम् धार्मिक विकासका लागि पनि महायज्ञले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
कक्षा १२ सम्म सञ्चालित पाङधैरेनी मा.वि.मा दुई सय २६ जना विद्यार्थीहरू अध्ययनरत छन्। कक्षा नर्सरीदेखि अङ्ग्रेजी माध्यममा पढाई सञ्चालन भइरहेको विद्यालयमा चार जना शिक्षकहरू निजी स्रोतबाट नियुक्त गरिएका छन्। उनीहरूलाई मासिक तलब सुविधा भुक्तानी गर्न लगायत विद्यालयको चौतर्फी स्तरोन्नतिका लागि आर्थिक अभाव भएपछि महायज्ञ गर्नुको विकल्प नदेखिएको विद्यालयका प्रधानाध्यापक गुणराज पौडेलले बताए।
महायज्ञलाई कथा प्रवचनमा मात्र सीमित नराखी पाङ शैक्षिक तथा आध्यात्मिक महोत्सवको रूपमा सञ्चालन गरिएको थियो। विद्यालयमा यस अघि २०५८ सालमा पनि महायज्ञ सञ्चालन गरिएको थियो। त्यो बेला सञ्चालन गरेको महायज्ञबाट आजसम्म विद्यालय सञ्चालन गर्न सफल भएको संयोजक रिजालले बताए।





