अछाम –डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछाममा शुरू हुने भएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्प पीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम शुरू भएको जानकारी दिए।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच हिजो सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ खर्च हुने र यो रकम पालिकाबाट भुक्तान हुने जनाइएको छ ।
भूकम्पबाट पूर्णरूपमा क्षति भएका घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ, आंशिक क्षतिको हकमा एक लाख र सामान्य क्षति भएकालाई ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ ।
विं.सं.२०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण त्यहाँका १० पालिकाका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए ।





