दार्चुला ।दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ।
अपिहिमाल गाउँपालिका-१ आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मङ्गलबार राति मृत्यु भएको हो ।
घरबाट दुई किलोमिटर दूरीमा रहेको शिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक वीरेन्द्रसिंह धामीले बताए । स्वास्थ्य चौकी पुर्याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन्। स्वास्थ्य चौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताए । मृतक द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्।
दार्चुलाको अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र राष्ट्रिय प्रसारणको विद्युत् सेवा नपुगेको पालिका हो । गाउँसम्म यातायातको पहुँच नभएकै कारण स्थानीय बासिन्दाले अनेकौँ समस्या भोग्नुपरेको स्थानीय बालकुमारी बोहराले बताइन्। सिकिस्त बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ ।




