धनगढी ।कैलालीमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ ।
आउँदै गरेको चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ ।
कोभिड अझै छिटपुट रुपमा देखा परिरहेकाले पहिल्यै सतर्क रहन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । अहिले चाडपर्व आइरहेकाले विगतको घटनालाई नबिर्सेर पहिल्यै सतर्क भएमा राम्रो हुने उनको भनाइ छ ।
फाइजर, बायोटेक, मोनो भ्यालेटको खोप लगाउने जनाइएको छ । बच्चा र वयस्क दुवैका लागि कुल ३५ हजार डोज खोप स्थानीय तहलाई वितरण गरिने जानकारी दिइएको छ । धनगढी उपमहानगरपालिकालाई पाँच हजार डोज, टीकापुर नगरपालिकालाई पाँच हजार डोज, लम्कीचुहा नगरपालिकालाई सात हजार डोज खोप दिइने जनाइएको छ ।
यसैगरी, भजनी नगरपालिका, घोडाघोडी, गौरीगंगा नगरपालिकालाई तीन-तीन हजार, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिकालाई दुई-दुई हजार डोज खोप दिइने छ । यसैगरी, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, चुरे र मोहन्याल गाउँपालिकालाई एक/एक हजार डोज खोप दिने जनाइएको छ ।





