काठमाण्डौं – नेपाल रेडक्रस सोसाइटीले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२औँ स्थापना दिवस मनाउँदैछ ।
मानवीय संस्थाका रूपमा रहेको नेपाल रेडक्रसमा ११ लाखभन्दा धेरै स्वयंसेवक मानवीय सेवाको कार्यमा सक्रिय रहेका संस्थाका महामन्त्री भूपतिलाल श्रेष्ठले बताए ।
उनका अनुसार रेडक्रसको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र ६ हजार ९ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सदस्य संस्थाका रुपमा स्थापना भई देशभर मानवीय सेवाका काम गर्दै आएको छ ।
रेडक्रसले सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता गतिविधि देशैभर सञ्चालन गर्दै आएको छ ।





