काठमाण्डौं –रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा गएको शुक्रवार ग्रिडको बिजुली पुर्याएको हो ।
बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको छ । गोसाईंकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्याइएको हो ।
अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही ठाउँका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट बिजुली प्रयोग गरिरहेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्याइएको बताएका छन् ।
रसुवाको सदरमुकामबाट गोसाईंकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिडको बिजुली पुगेको थियो । चन्दनबारीबाट झन्डै आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईंकुण्डमा पुर्याएको हो ।
गोसाईंकुण्डमा बिजुली आपूर्तिका लागि १५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभीएको ट्रान्सफर्मर राखिने छ ।
गोसाईंकुण्डमा बिजुली पुर्याउन गएको वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । यसको अनुमानित लागत झन्डै तीन करोड रुपैयाँ रहेको छ ।





