कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाढीग्रस्त विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेन अन्तर्राष्ट्रियको आर्थिक सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा शैक्षिक सिकाई निरन्तरताका लागि गाउँपालिकाका १४ वटा बाढीग्रस्त सामुदायिक विद्यालयका झण्डै १३ सय विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बेलडाँडी गाउँपालिकामा रहेको १४ वडा बाढीग्रस्त सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यन गर्ने झण्डै १३ सय विद्यार्थीलाई कापी, कलम, पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री साथै शिक्षकहरूलाई अध्यापन सामग्री वितरण गरिएको बताए ।
उनले करिब ३२ लाख ६३ हजार बराबरको सामग्री सहयोग गरिएको बताएका छन् । संस्थाले विपद् व्यवस्थापन तथा मानविय सहायताका लागि काम गर्दै आएको र यसअघि पनि संस्थाले सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रियको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा २२ विद्यालयहरूलाई शिक्षक अध्यापन सामग्री र बाल विकास कक्षा संचालनका लागि अध्यापन सामग्री साथै बाढीग्रस्त क्षेत्रमा बसोवास गर्ने १५ विद्यालयका झण्डै १७ सय विद्यार्थीहरूलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री वितरण गरिएको बताइएको छ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले गत असार २२ गतेदेखि २४ भएको वर्षापछि आएको बाढीले विद्यार्थीहरूको कापी, किताब लगायत शैक्षिक सामग्री बगाएको, भिजेकोले पठन–पाठनमा अवरोध भएको बताए। उनले एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेन अन्तर्राष्ट्रियले बालबालिकाहरूको शैक्षिक निरन्तरताको लागि शैक्षिक सामग्री सहयोग गरेकोमा दुवै संस्थालाई धन्यवाद दिएका छन् ।
यसअघि पनि एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेन अन्तर्राष्ट्रियले ६ सय ३९ बाढी प्रभावित परिवारलाई छोटो समयमा नै राहत वितरण कार्य गरि सहयोग गरेको र गाउँपालिकामा एनएनएसडब्ल्यूएले विपद् व्यवस्थापन लगायत अन्य विभिन्न क्षेत्रहरूमा काम गर्दै आएको र आगामी दिनहरूमा पनि साथ सहयोगको लागि अपेक्षा गरेका छन् ।
बाढी आएको बेला घरमा रहेको कापी, किताब, पोशाक बगाएर पढाई अवरूद्ध भएको अवस्थामा संस्थाले गरेको सहयोगपछि आफ्नो पठन–पाठन पुनः सुचारू गर्न सकिने भन्दै विद्यार्थीहरूले खुशी महसुस भएको बताएका छन्।
कञ्चनपुरमा गत असार महिनामा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा पछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा ठुलो बाढी आएको थियो।
साथै बाढीका कारण हजारौँ परिवार विस्तापित भएका थिए। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)ले बाढी प्रभावित परिवारलाई खाद्यान्न, गैर खाद्य सामग्री, बहुप्रयोजनका लागि नगद साथै प्रभावित विद्यार्थीहरूलाई अध्ययन अध्यापन सामग्रीहरू सहयोग गर्दै आएको छ।








