एजेन्सी – जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस)ले भूकम्प क्युसुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ।
जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोसिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
‘सुनामीको छाल पटकपटक आउन सक्छ, त्यसैले कृपया जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समुद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक हुनेछ,’ जापानको मौसम विज्ञान निकायद्वारा सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ।
भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गरेका छन्।
सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन, सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिबारे स्थितिको आकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिएका छन्।
उनले स्थानीय तहसँग घनिष्ट समन्वय कायम गर्न र जनताको जीवनरक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी तथा अन्य उद्धारमा खटिने संघसंस्थालाई निर्देशन दिएका छन्।





