काठमाण्डौं –आज विश्व हेपाटाइटिसविरुद्धको दिवस : ‘अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो’ भन्ने नाराका साथ मनाईंदैछ ।
हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् ।
हेपाटाइटिस ‘बी’ र ‘सी’ घातक मानिन्छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्ने डाक्टरले बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ । डाक्टरका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ ।
हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा आवश्यक परामर्श लिन डाक्टरको सल्लाह छ ।





