धनगढी । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २४ घण्टाको अवधिमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ ।
जलतथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो ।
यसअघिसम्म नेपालको सबैभन्दा धेरै वर्षा २०७४ साल भदौ १ गते (१७ अगष्ट २०१७) मा मकवानपुरको टिस्टुङपालुङमा भएको थियो । विभागको रेकर्ड अनुसार त्यतिबेला ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो ।
वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले भनिन्, ‘कञ्चनपुरको दोधारामा ६२४ मिलिमिटर वर्षा मापन भएको छ । यो रेकर्ड ब्रेकिङ वर्षा हो ।’
दोधारामा यसअघि जल मापन केन्द्र थिएन । दोधारामा २०८० फागुन १२ गतेमात्र स्वचालित स्टेसन जडान गरिएको थियो । त्यसैले अघिल्ला वर्ष त्यहाँ कति वर्षा हुन्थ्यो भन्ने थाहा छैन । त्यसैले अहिलेकै वर्षालाई मौसमविदहरुले ‘रेकर्ड ब्रेकिङ’ मानेका हुन् ।
आइतबार राति करिब ८ बजेदेखि सोमबार बिहान २ बजेसम्मको अवधिमा कञ्चनपुरमा अत्यधिक भारी वर्षा भएको थियो ।





