धनगढी :विश्व रक्तदाता दिवस २०२५ को अवसरमा दारी ग्याङ टिकापुर उपशाखा र 4H Nepal AFU Section CNRM टिकापुर कैलालीको संयुक्त आयोजनामा कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वेल एजुकेसन हबको आर्थिक सहयोग, वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसको सहकार्य एबं नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रम वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस टीकापुरमा सम्पन्न भएको थियो जसमा करिब २५ जना रक्तदाताले रक्तदान गरेको आयोजकले बताएको छ ।
कार्यक्रममा टिकापुर अस्पतालका चिकित्सक डा.अंकित आचार्यले रगतको एउटा पोका कसैको जीवन बचाउन सक्षम हुने कुरा उल्लेख गर्दै रक्तदानलाई सबैभन्दा पुण्य काम र मानवता प्रदर्शन गर्ने माध्यमको रूपमा वर्णन गरे। उनले भने, “हाम्रो शरीरले नियमित रूपमा रगत उत्पादन गर्छ, र एक स्वस्थ व्यक्तिले वर्षमा तीनदेखि चार पटकसम्म रक्तदान गर्न सक्छ। यसले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन, बरु नियमित रक्तदानले शरीरलाई अझ सक्रिय बनाउँछ।”
डा.आचार्यले रक्तदानसँग सम्बन्धित सामाजिक भ्रमहरू चिर्दै, रगत नदिँदा ज्यान गुमाउने घटनाहरूसमेत उल्लेख गरे। उनले युवाहरूमाझ रक्तदानको सकारात्मक सन्देश फैलाउनुपर्नेमा जोड दिँदै यस्तो कार्यक्रमले जनचेतना अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका निवर्तमान उपसभापति जगदीश्वर पण्डितले पनि रक्तदानबारे समाजमा अझै भ्रम व्याप्त रहेको उल्लेख गर्दै भने, “रक्तदानले कमजोरी आउँछ भन्ने धारणा पूर्ण रूपमा गलत हो। स्वस्थ शरीरले रक्तदानपछि केही समयमै गुमेको रगत पुनः निर्माण गर्छ। यो दान हामीले कसैलाई जीवन दिने कार्य हो, जसको मूल्य पैसामा जोख्न सकिँदैन।”
उनले रक्तदान अभियानलाई सामाजिक आन्दोलनको रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसका विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा, स्वयंसेवकहरू, र अन्य सामाजिक कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूमा रक्तदानप्रति उत्साह र जागरूकता देखिन्थ्यो, जसले आगामी दिनमा अझ व्यापक प्रभाव पार्ने विश्वास लिइएको छ।





