काठमाण्डौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भएको भन्दै दुःख दिने गरिएको गुनासो गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विदेशबाट फोन गरेर बत्ती गएको भन्दै बारम्बार दुःख दिने काम भइरहेको उल्लेख गरे । उनले भ्रम फैलाउनेहरूले राति १२ बजे पनि फोन गरेर बत्ती गएको बताउने गरेका उल्लेख गर्दै त्यसबारे सोधपुछ गर्दा नेपालका ती स्थानहरूमा बत्ती गएको नभई झुटो जानकारी दिइएको पाइएको बताए ।
उनले यस्ता दुष्प्रचारमा नलागी यथार्थमै आधारित रहन आग्रह गरेका छन् । उनले अवरुद्ध भएको खण्डमा त्यसको कारणसहित जानकारी दिइने गरिएको पनि बताएका छन् ।
उनले उत्पादनमा कमी भएर नभई कम उत्पादन भएको बेला विद्युत् आयात गरेर भए पनि आवश्यकताअनुसार आपूर्ति भइरहेको बताए ।
उनले भने, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक–पटक आएका छन् । हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैलाउने काम भइरहेको छ । एउटै नम्बरबाट पटक–पटक फोन आउने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । तर त्यहाँ बुझ्दा सबैतिर बत्ती हुन्छ । यस्तो प्रकारको दुष्प्रचार गरिएको पाइन्छ । यस्ता दुष्प्रचारमा नलागेर यथार्थमा रहन आग्रह गर्दछु । अवरुद्ध भएको खण्डमा त्यसको कारण दिइएका छौँ । उत्पादनमा कमी भएर लोडसेडिङ भएको होइन, कम उत्पादन भएको समयमा आयात गरेर भए पनि आवश्यक विद्युत् उपलब्ध गराएका छौँ ।’
उनले ऊर्जा, पर्यटन र कृषिबाट नेपालको समृद्धि सम्भव रहेको पनि बताए ।





