काठमाण्डौं : सबैभन्दा धेरै पानी सिन्धुपाल्चोकमा परेको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहीबार सिन्धुपाल्चोकको ढुंगे स्टेसनमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ।
ललितपुरमा पनि भारी वर्षा भएको थियो । टिकाथलीमा ७८.६ र खुमलटारमा ६७ मिलिमिटर वर्षा मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको थियो। शुक्रबारको तुलनामा आज कम पानी पर्ने दाहालले बताए। तर स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेकोले भोलिसम्म नै मौसम बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भवना छ।
दिउँसो र राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेश सहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।





