बैतडीः बैतडीमा खोप लगाएको बालकको मृत्यु प्रकरणमा सहमती जुटेको छ।
डिलासैनी गाउँपालिका–२ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका थिए।
बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका–३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो। शिशुको शंकास्पद मृत्यु भएको घटनाका विषयमा ठोस अनुसन्धान गर्ने र उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएको छ।
घटनाको विषयमा सबै पक्षबाट अनुसन्धान गरिने र पालिकाको तर्फबाट उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएको गाउँपालिका उपाध्यक्ष भगिरथ सिंह बोहराले जानकारी दिए। गाउँपालिकाले ५ लाख क्षतिपुर्ती र थप किरिया खर्च उपलब्ध गराउने सहमती जुटेको स्थानीय ध्रुब रानाले बताए।





