चितवन – चितवनमा आलुका जातको अध्ययन शुरू भएको छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जातजातिको अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत आलुका जातहरूको अध्ययन शुरू भएको हो ।
कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार किसानलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन कार्यक्रम गरेको हो । विभिन्न १० प्रकारका आलुको अध्ययन शुरू गरिएको उनले जानकारी दिए ।
उनका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन शुरू भएको छ । औद्योगिक आलुका रूपमा फ्रेन्चफ्राई, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन थालिएको उनले बताए ।
एउटा जातको २५ किलो आलुका दरले किसान र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो । खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका किसानको बारीमा आलु रोप्ने काम सकिएको छ ।
उत्पादन क्षमता हेरेर कुन आलुलाई कुन क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताए । रासस





